Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरूमा दृष्टिदोषको समस्या देखिएको छ ।

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरूको आँखा परीक्षण गरिएको थियो ।

आँखा परीक्षण पश्चात् समस्या देखिएका बालबालिकाहरूलाई निःशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताए ।

उक्त परियोजना मार्फत ४ वर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरूलाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको शाहले बताए ।

शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएको चस्मा मध्य ६३ प्रतिशत बालबालिकाहरूले मात्र नियमित रूपमा चस्मा प्रयोग गरिरहेका छन् ।

‘चस्मा लगाउँदा साथीहरूले जिस्क्याउने, आमाबाबुले छोरीहरूलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरूले पनि बालबालिकाहरूले नियमित रूपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने ।

नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेचि आँखा अस्पताल मार्फत यी जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्रले बताए ।

 

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्