Logo
१२ मंसिर २०८१, बुधबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वस्थ रहन आसनको महत्त्व : यी हुन् विभिन्न आसनहरु

शारीरिकरुपमा स्वस्थ र तन्दुरुस्त रहन मात्र हैन मानसिकरुपमा सकारात्मक, स्वस्थ र सबल रहनसमेत अष्टांगयोगको एक अंग आसन अति महत्वपूर्ण रहेको पाइन्छ ।

योगको ग्रन्थ घेरण्डसंहितामा चौरासी लाख आसनहरु रहेको कुरा उल्लेख गरिएको छ । हामीले ती सबै आसनहरु गर्न आवश्यक छैन, तर ती मध्ये केही वा न्यून संख्यामा मात्र आसन गर्न सकियो भने पनि हामीलाई पुग्छ ।

महर्षि पतञ्जलिले योगसूत्रमा आसनको परिभाषा दिँदै स्थिर सुखमासनम् अर्थात् सुखपूर्वक स्थिरावस्थामा रहने स्थितिलाई नै आसन भनी जनाएको पाइन्छ ।

आसनमा हामीले शरीरलाई कुनै पनि निश्चित स्थितिमा लैजाने अभ्यास गर्नुपर्छ, प्रयास सफल भएपछि आपूmलाई त्यसैमा धेरैबेर टिकाइराख्न पनि कुनै कठिनाइ हुँदैन र निरन्तर बसेपछि त्यसैबाट आनन्द आउन थाल्छ ।

अन्त्यमा आसनको सिद्धि भएको मानिन्छ । योगमा आसनको महत्व अत्यन्त बढी छ । किनभने योगका हरेक अभ्यासहरु कुनै न कुनै आसनलाई प्रयोग गरेर मात्र सम्भव छन् र योगसाधनाको अन्तिम अवस्था समाधिसम्म पुग्ने भ¥याङ पनि आसन हो ।

स्वस्थ जीवनशैलीका लागि हामीले आसनहरुको प्रयोग अनेकौं प्रकारले गर्न सक्छौं । कुनै पनि उमेर, अवस्था र समयमा कुनै पनि व्यक्तिले आसनको प्रयोग गर्न सक्छ । योगका आसनअन्तर्गत यौगिक सूक्ष्म व्यायाम, स्थूल व्यायामसमेत पर्दछन्, जसले आसनलाई सहजतातिर लैजान्छ ।

स्थूल व्यायामले सम्पूर्ण शरीरलाई तताउने, शरीरको एकमुष्ट व्यायाम हुने र आसन गर्न सहज बनाउने गर्दछ भने सूक्ष्म व्यायामले शरीरका अंगप्रत्यंगको व्यायाम हुने, लचिलो र बलियो पार्ने, जोर्नीहरुलाई खुलाउने आदि कार्य गरी आसनमा शरीरको स्थितिलाई सहजताका साथ पूरा गर्न मद्दत गर्दछ ।

आसनका प्रकारहरु

योगका आसनहरुलाई प्रयोजन र स्थितिका आधारमा विभिन्न स्वरुपमा वर्गीकरण गर्न सकिन्छ । आप्mनो उमेर, शारीरिक अवस्था, रोग, क्षमता आदिलाई ध्यान दिएर गुरुको निर्देशनमा योग अभ्यास गर्न सकिन्छ । यहाँ ती आसनहरुको प्रकार र उपयोगिताका बारेमा चर्चा गरिन्छ ।

प्रयोजनका आधारमा आसनहरु
आसन केका लागि गरिन्छ भन्ने आधारमा पनि यसलाई वर्गीकरण गर्न सकिन्छ । श्रमदायक वा क्रियात्मक आसन: प्रायः आसनहरु यही श्रेणीमा आउँछन् ।

शरीरका विशेष भागहरुलाई चलाउँदै एक निश्चित स्थितिमा पुगेपछि स्थिर हुने प्रयास गरिन्छ, यसैलाई आसन भनिन्छ । उदाहरणको लागि उत्तानपादासन, सलभासन, धनुरासन, त्रिकोणासन, मण्डूकासन आदि ।

यस्ता आसनहरुले शरीरलाई बलियो, लचिलो र तन्दुरुस्त बनाउन, तौल घटाउन, स्वस्थ एवं अस्वस्थ अवस्थामा समेत गरिन्छ ।

विश्रामात्मक आसन: क्रियात्मक आसन, स्थूल व्यायाम आदिका अवसरमा लागेको थकाइ हटाउन र शीथिलीकरणका लागि अभ्यास गरिने आसनलाई विश्रामात्मक आसन भनिन्छ ।

जस्तै-शवासन, बालासन (बालसयनासन), मकरासन आदि । यस्ता आसनहरुले मानसिक तथा मनोशारीरिक समस्याहरुलाई हटाउन, मन बलियो बनाउन र उच्च तथा न्यून रक्तचाप, अनिद्रा, दुखाइ कम गर्न, जीउ थाक्ने, गल्ने झम्झमाउने, पोल्ने आदि समस्याहरु हटाउनसमेत प्रयोग गर्न सकिन्छ ।

ध्यानात्मक आसन: प्राणायाम तथा ध्यानको लागि सजिलोसँग गरिने आसन निकै नै उपयोगी मनिन्छ । उदाहरणको लागि सुखासन, सिद्धासन, वज्रासन, पद्मासन आदि ।

ध्यानात्मक आसनले मनको अस्थिरता, बेचैनी, तनाव तथा चिन्ताको गडबडी, अनिद्रा, उच्च–न्यून रक्तचाप, मधुमेह, मोटोपन, दुखाइजस्ता अनेकौं समस्यालाई कम गर्छ ।

सन्तुलनात्मक आसन: एक खुट्टा, दुवै गोडाको पञ्जा, हात, टाउको आदिले टेकेर शरीरलाई सन्तुलन कायम गरी अभ्यास गरिने आसनलाई सन्तुलनात्मक आसन भनिन्छ ।

यस्ता आसनहरुमा वृक्षासन, ध्रुवासन, ताडासन, नटराजासन, शीर्षासन, वृश्चिकासन आदि पर्दछन् । यस्ता आसनहरु मानसिक एकाग्रता बढाउन, मनोरोगहरु घटाउन र अन्य विशेष लाभहरुका लागि प्रयोग गरिन्छ ।

तन्काउने एवं खुम्च्याउने आसन: यस्तो समूहका आसनमा हातगोडा तथा जीउका भागहरुलाई तन्काएर वा खुम्च्याएर अभ्यास गरिन्छ । तन्काएर गरिनेमा ताडासन, तीर्यक ताडासन, मुष्टीबद्धचक्रासन आदि अभ्यास गरिन्छ भने खुम्च्याएर पवनमुक्तासन, केही मर्कटासन, झुलासन आदि पर्दछन् ।

यस्ता आसनहरु शरीरलाई बलियो तथा लचिलो बनाउन र हाड–नसा तथा मांसपेशीजन्य रोगहरुमा उपयोगी हुन्छन् । स्थिर तथा चलासन: हुन त चलायमान अवस्थाबाट नै स्थिरावस्थामा पु¥याई आसनको अभ्यास गरिन्छ ।

तर कतिपय आसनहरु स्थिर अवस्थामा नगरीकन पनि अभ्यास गरिन्छ । स्थिरावस्थामा बस्न सकिने आसनहरु जस्तै-नौकासन, हलासन, वज्रासन आदि हुन् भने चलायमान बनाई स्थिर नराखी गरिने आसनहरुमा झुलासन, पादवृत्तासन, पुतलीआसन, चलधनुरासन, चलमकरासन आदि पर्दछन् ।

यस्ता आसनले प्रभावित अंगहरुलाई बलियो, तन्दुरुस्त, तौलमा सन्तुलन, शरीरको प्रतिरोधक तथा सहन गर्ने क्षमता बढाउँछ ।

चिकित्सात्मक आसन: कुनै रोगोपचार गर्ने उद्देश्यले गरिने आसनलाई चिकित्सात्मक आसन भनिन्छ ।

यस्ता आसनहरु सहज प्रकृतिका हुन्छन् र बिरामीको क्षमता, आवश्यकता, उमेर र रोग अनुरुप अधिकतम लाभ दिने खालका मात्र अभ्यास गराइन्छ ।

स्थितिका आधारमा आसनहरु

बसेर गरिने आसन: यस्तो समूहमा पैतालाले टेकेर, नितम्ब वा गोडा माथि, पलेटी मारेर लगायत अनेक किसिमले बसेर आसनको अभ्यास गरिन्छ । सुखासन, सिद्धासन, कागासन, पद्मासन, दण्डासन, जानुशिरासन आदि यसका उदाहरण हुन् ।

उत्तानो परेर गरिने आसन: उत्तानो सुतेर गरिने शरीरको तल्लो वा माथिल्लो भाग उठाउने आसनहरु यस समूहमा पर्दछन् । उदाहरणका लागि उत्तानपादासन, नौकासन, हृदयस्तम्भनासन, नाभीदर्शनासन आदिलाई लिन सकिन्छ ।

घोप्टो परेर गरिने आसन: घोप्टो सुतेर गरिने गोडा, छाती वा दुवै भाग उठाउने आसनहरु यस समूहमा पर्दछन् । भुजंगासन, सलभासन, नाभ्यासन (विपरीत नौकासन), धनुरासन, मकरासन आदि यस समूहका आसनहरु हुन् ।

उठेर गरिने आसन: उभिएर गरिने आसनहरु जस्तै-हस्तोत्तानासन, वृक्षासन, नटराजासन आदि हुन् । विपरीत आसन: शरीरलाई सामान्य टाउको माथि र खुट्टा तल गरेर अभ्यासन गरिने भन्दा ठ्याक्कै विपरीत वा उल्टो बनाएर गरिने आसनलाई विपरीत समूहको आसन भनिन्छ । उदाहरणको लागि सर्वाङ्गासन, विपरीत करणी आसन, शीर्षासन आदि यसका उदाहरण हुन् ।

अगाडि झुक्ने आसन: शरीरलाई अगाडितिर निहुँराएर गरिने आसनहरु यस्तो समूहमा पर्दछन्, जस्तै– हस्तपादासन, जानुशिरासन, पश्चिमोत्तानासन आदि ।

पछाडि मोडिने आसन: शरीरलाई पछाडितिर मोडेर अभ्यास गरिने आसनहरु यस समूहका आसनहरु हुन्, जस्तै– हस्तोत्तानासन, चन्द्रदर्शनासन, भुजंगासन आदि ।

साइडमा मोडिने आसन: कम्मरको भागबाट शरीरलाई दायाँ–बायाँ झुकाउने आसनहरु यस समूहमा पर्दछन्, जस्तै– तीर्यकताडासन, चन्द्रासन, मुष्टीबद्धचक्रासन आदि ।

बटारिएर गरिने आसन: कम्मर वा मेरुदण्डलाई बटारेर गरिने आसनहरु जस्तै– मेरुवक्रासन, कटिचक्रासन, अर्धमत्स्येन्द्रासन आदि यस समूहका आसनहरु हुन् ।

तन्काएर गरिने आसन: कतिपय आसनहरुलाई हात, गोडा, कम्मर आदि भागहरु तन्काएर गरिन्छ । यसरी तन्काउने क्रम माथि, तल, साइड आदिमा शरीरको निश्चित अंगलाई प्रयोग गरेर अभ्यास गरिन्छ ।

मिश्रित समूह: धेरै आसनहरु एकलरुपमा अभ्यास गरिन्छ । तर कुनै कुनै अभ्यासमा एकभन्दा बढी आसन वा स्टेपहरुको समूहगत प्रयोग हुन्छ । उदाहरणको लागि सूर्य नमस्कार, चन्द्र नमस्कार, प्रज्ञायोग, ताण्डव नृत्य आदि । यस्ता आसनहरुले छोटो समयमा नै सम्पूर्ण शरीर र मनको समेत व्यायाम प्रदान गर्ने र स्पूmर्ति प्राप्त गर्न सकिन्छ ।

सावधानीहरु :
आसनको अभ्यास गर्नुअगाडि सूक्ष्म तथा स्थूल व्यायामहरुको अभ्यास गर्नुपर्दछ । आँखा, अनुहार, टाउको, काँध, हात, छाती, कम्मर, गोडाजस्ता अंग-अंग चलाउने यौगिक सूक्ष्म व्यायामहरु आसनअगाडि दैनिक गर्नुपर्छ ।

यसरी नै स्थूल व्यायामहरु जस्तै-मन्द गति (हल्का जगिङ गरेजस्तो), तीव्रगति (छिटो–छिटो दौडेजस्तो), हृद्गति (हातगोडा चलाएर तीव्र श्वासप्रश्वास प्रक्रिया गर्दै, गोडाले नितम्बमा छुँदै हात पनि मुठ्ठी पारेर खुम्च्याउँदै-फैलाउँदै गरिने अभ्यास), उध्र्वगतिले शरीरलाई एकसाथ तातो र ऊर्जाशील बनाउने, शरीरमा मोटाबोलिज्म प्रक्रियालाई व्यवस्थित गर्ने, प्रमुख अंग तथा प्रणालीहरुको कार्यक्षमता बढाउनेजस्ता विभिन्न कार्यहरु गर्दछ । यस्ता यौगिक व्यायामहरुको अभ्यासले आसनलाई सहज बनाउँछ ।

कुनै पनि आसनहरु आरम्भमा योगगुरुको सान्निध्यमा अभ्यास गर्नुपर्दछ । आसनको अभ्यास सरलताबाट कठिन आसनतिर लाग्नुपर्दछ । कम्मर दुख्नेले अगाडितिर निहुँरने आसन गर्नुहुँदैन ।

गर्दनको दुखाइ भएकाले टाउकाको चलायमान व्यायाम गर्नुहुँदैन । यसरी नै रिँगटा लाग्नेले पछाडितिर मोडिने गर्नुहुँदैन । खुट्टा मर्केको, घुँडा दुखेको र नसा च्यापिएको अवस्थामा उफ्रने खालका व्यायाम एवं आसन गर्नुहुँदैन ।

धेरै दिन अभ्यास नभएका, बढी मोटो, उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, न्यून रक्तचाप, हृदयरोग, मधुमेहमा इन्सुलिन लिने समस्याहरुमा बढी थाक्ने गरी र धेरै बेर अभ्यास गर्नुहुँदैन ।

गर्भवतीले पनि अलग्गै अभ्यास गर्नुपर्छ र निर्धारित अभ्यासमात्र गर्नुपर्दछ । कमजोरी, पखाला, ज्वरो आदि अवस्थामा विश्रामदायक अभ्यासमात्र गर्नुपर्दछ ।

कुनै पनि जोर्नीमा सुन्निएको र दुखेको छ भने त्यसको व्यायाम गर्नुहुँदैन । मेजर अपरेसन गरेको चार–पाँच महिना नकटेको, भर्खरै बच्चा जन्माएको, वृद्धावस्था आदिमा समेत निकै सावधानी अपनाउनुपर्दछ ।

अभ्यास गर्दा सहज खालको कपडा लगाउने, दोहोरो हावा छिर्ने सफा कोठा वा अन्य स्थान, शान्त वातावरणको छनौट गर्ने, सकभर बिहानै ब्रह्ममुहूर्तमा आसनाभ्यास गरिसक्नुपर्दछ । गरिराखेको अवस्थामा श्वास कस्तो गर्ने, गर्ने विधि के हो ? भन्ने बारेमा राम्ररी नियम अपनाउनुपर्दछ ।

आसनका लाभहरु :

आसनको अभ्यासले अनेकौं शारीरिक तथा मानसिक लाभहरु प्राप्त हुन्छन् । श्वासप्रश्वास, रक्तसञ्चार, हाड-जोर्नी, मांसपेशी, सन्तानोत्पादन, अन्तःस्रावी, पाचन, निष्कासन आदि प्रणालीहरुको कार्यक्षमता बढाउने, बलियो पार्ने गर्दछ । शरीरको निर्विषीकरण, शीथिलीकरण, लचिलीकरण आदिमा पनि आसनको महत्व छ ।

ध्यानात्मक आसनमा बस्दा मात्र पनि मन शान्त, तनाव एवं चिन्तामुक्त भएको अनुभूति हुन्छ । आसनहरुको अभ्यासले शरीरलाई छरितो बनाई रोगबाट सुरक्षा प्रदान गर्दछ भने शारीरिक, मानसिक, भावनात्मक एवं मनोशारीरिक अनेकौं समस्याहरुमा फाइदा गर्दछ ।

यसले अनेक कारणबाट शरीरमा आएका अनेक लक्षणहरु जस्तै– घोच्ने, पोल्ने, दुख्ने, निदाउने, झम्झमाउने, अररो तथा अप्ठ्यारो हुने, फर्फराउने, सुख्खा हुने आदिलाई हटाउन सहयोग गर्छ ।

केही आसनको अभ्यास : 
सुखासन: यो सहज ध्यानात्मक आसन हो । पलेटी मारेझैँ बस्नुहोस् र मेरुदण्ड तन्काएर सीधा आरामपूर्वक राख्नुहोस् । दुवै हातलाई घुँडामा राखी हत्केला माथि फर्काएर बूढी र चोरऔँला एक-आपसमा जोडी बाँकी तीन औँला सोझो पार्नुहोस् ।

यसलाई ज्ञानमुद्रा भनिन्छ । आँखाले एकैछिन् नाकको टुप्पोमा ध्यान केन्द्रित गर्दै बस्नुहोस् र तत्पश्चात् आरामपूर्वक शान्त बस्नुहोस् । लामो तर सूक्ष्म ढंगले श्वासप्रश्वास गर्दै श्वास भित्र जाँदै छ र बाहिर आउँदै छ भन्ने कुरामा मात्र लगातार ध्यान केन्द्रित गर्नुहोस् । यसले तनाव कम गर्छ, मनमा शान्ति र आनन्द आउँछ ।

नटराजासन: उभिनुहोस् र शरीरलाई सन्तुलनमा राख्दै दाहिने गोडालाई पछाडिबाट खुम्च्याएर कुर्कुच्चाको जोर्नीमा दाहिने हातले बलियोसँग समात्नुहोस् । देव्रे हातलाई अगाडि सीधा राखी हत्केला माथि फर्काउनुहोस् ।

चोर र बूढी औँला एक–आपसमा जोडेर बाँकी तीन औँला सोझो पारी ज्ञानमुद्रामा राख्नुहोस् । पछाडि समातिएको गोडालाई शरीरबाट टाढा फट्टाउँदै लैजानुहोस् । सन्तुलन बिग्रेर लडिएला, ध्यान दिनुहोस् । शुरुमा भित्तातिर छोएर वा कसैको सहारामा अभ्यास गर्न पनि सकिन्छ । केही बेर यसको अभ्यास गरेपछि अर्को खुट्टा र हात परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् ।

लाभ: यसले शरीरलाई सन्तुलित र सुडौल एवं तन्दुरुस्त पार्छ । मनमा एकाग्रता बढाउँछ । मनोसमस्याहरु हल गर्न सहयोग गर्छ । हातगोडा र मेरुदण्डलाई शक्तिशाली बनाउँछ ।

सावधानी: धेरे मोटो व्यक्तिले नगर्ने । नलडिने उपायबाट अभ्यास गर्नुहोस् ।

हाँस्यासन: बसेर, उठेर वा हिँड्दै विभिन्न हाउभाउ गरेर विभिन्न तरिकाले हाँस्ने विधिलाई हाँस्यासन वा हाँस्ययोग भनिन्छ ।

लाभ: हाँस्यासन वा हाँस्ययोगले अनेकौं शारीरिक तथा मानसिक रोगहरु हटाउन सहयोग गर्छ । यसले जीवनमा खुशी र आनन्द प्रदान गर्दछ । तनाव, चिन्ता आदिको व्यवस्थापनमा उपयोगी छ ।

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्