बाढी पिडतलाई प्रधानमन्त्रीद्वारा राहत वितरण
बर्दिया : प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको आज हवाई तथा स्थलगत निरीक्षण गरेका छन् । गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्दै प्रधानमन्त्री देउवाले सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने बताए । उनले बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको बताए ।
“निर्धक्क साथ बस्नुस्, सरकारले राहत उपलब्ध गराउँछ,” उनले भने । बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरे । तत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने उनले आश्वासन दिए ।
प्रधानमन्त्रीका साथमा सिँचाइमन्त्री सञ्जयकुमार गौतम रहेका छन् । बाढीबाट बर्दियामा एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी पीडित अहिले जिल्लाका ४१ वटा विद्यालयमा शिविर खडा गरेर बस्दै आएका छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ ।
जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गरे । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई रु दुई लाख दिने निर्णय गरेको छ । गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो ।
सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गरेका थिए । त्यस अवसरमा उनले बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन दिए ।
प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्पmबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिए । यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गरेका हुन् ।
यसैगरी, प्रधानमन्त्री देउवाले बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गरे। बाँके जिल्लाको कार्यक्रम सकेर उहाँ बर्दिया र कैलाली जिल्ला तर्फ प्रस्थान प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलाली जिल्लाको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसँग भेटघाट गर्ने र राहत उपलब्ध गराउने कार्यक्रम रहेको बाँकेका प्रजिअ रमेशकुमार केसीले जानकारी गराएका छन् । रासस