Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : अध्यक्ष शाह

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका हुन्।

उनले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भएपनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताए। उनले रेडबुकमा स्पष्टसँग विद्युत प्राधिकरण अन्र्तगत हुने खर्चहरु नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए।

उनले भने,‘विद्युत प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जवाफदेही छ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जवाफदेही छैन। सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो। किनकी ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन। वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन-कुन पालिकामा कति-कति लाख भनेर छापेर जनतालाई झुक्याउने? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने? के छ भित्री कुरा किताव लेख्नै नहुने? शीर्षक अनुसार गतिविधि सांसदहरुले जान्नै नहुने हो? कुन ठाउँमा विद्युत प्रशारण बढाउँदै हुनुहुन्छ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरु। यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन? बक्यौता रकमहरु किन उठाउन पहल भइराखेको छैन? अन्तिम आर्थिक वर्षमा नाफामा देखाएर दुनियाँलाई झुक्याउने? एकातिर ठूल्ठूला व्यापारिक घरानाहरुलाई सेवा गर्ने। अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न। समयमा लाइन पनि दिनुपर्दैन। तर दण्ड ठोकी हाल्नुपर्छ।’

उनले प्राधिकरणले आफुलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताए। प्राधिकरणले व्यापारिक घरानाहरुलाई सेवा गरेको तर गाउँघरमा विद्युत प्रशारण गर्न नसकेको बताएका हुन्।

प्रकाशित मिति: Jun 19, 2023

प्रतिक्रिया दिनुहोस्