ताप्लेजुङमा बाढी पहिरोको सन्त्रास, सम्पूर्ण बिद्यालय बन्द, सडक सञ्जाल बिच्छेद
कोशी प्रदेश स्थित बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
लगातार परिरहेको पानी र झरेको पहिरोले यो बेला ताप्लेजुङको सिरिजङ्गा, सिदिङ्वा गाउँपालिका, आठराई, त्रिबेणी र मैवाखोला गाउँपालिका प्रभावित भएको छ।
सिदिङ्वाको वडा नं ६ मेहलेमा एकै परिवारका ३ सहित ४ जना बेपत्ता भएका छन् भने वडा नं ३ आङ्खोपमा पहिरोले ३ घर बगाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले स्थितिमा सुधार आई अर्को सूचना जारी नभईञ्जेल सम्मका लागि पालिका भरीका बिद्यालय बन्द गरिएको जनाएका छन्।
उनले बिद्यार्थीहरुलाई बिद्यालय नपठाउन र सुरक्षित तवरले रहन र राख्न सम्वन्धित अभिभावकहरुलाई आग्रह गरेका छन्।
यसअघि सिरिजङ्गा वडा नं ८ याम्फुदिनमा ५ सरकारी कार्यालय सहित १५ घर परिवार बिस्थापित भएका जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिएकी छन्।
मैवाखोला र तमोर नदीमा आएको बाढीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजारलाई जोखिममा पारेको छ।