Logo
८ आश्विन २०८१, मंगलबार
(June 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयक संशोधन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकता बिहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।

उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर विरोधमा रहेको उल्लेख गरे । उनले भने, ‘आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेसका ती तमाम नागरिकताविहिन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ । हामी यसको घोर विरोध गर्दछौँ ।’

उनले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणीकरणमा जानु नहुने बताए । ‘यो राजनीतिक विषय हो । नेपालको सुरक्षासँग जोडिएको विषय हो । यो मानवअधिकारसँग जोडिएको विषय हो । सँगसँगै भूराजनीतिसँग जोडिएको विषय पनि हो’ उनले भने, ‘यसर्थ यो गम्भिर विषयमा संसदमा विशेष काम छ भनेर हामीलाई संसदमा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन । यसर्थ सरकारले रोकोस् । सरकारले यसलाई संशोधन गरोस् ।’

उनले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै यसरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ ।

प्रकाशित मिति: Jun 4, 2023

प्रतिक्रिया दिनुहोस्