कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
पूर्वसांसद एंव नेपाली कांग्रेसका नेता आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्ने समाचार बाहिरिएको थियो ।
पूर्वसांसद शेर्पाले आज (सोमबार) केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन् । शेर्पाले आज प्रहरीसमक्ष आफैंले आत्मसमर्पण गरेका हुन् ।
शेर्पा २०७० सालमा रामेछापबाट संविधान सभा सदस्य बनेका थिए । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई हिरासतमा भेटेपछि प्रहरीले उनीविरुद्ध पनि निगरानी बढाएको थियो ।
परिसरका प्रवक्ता एसपी सीताराम रिजालले आङ्टावा शेर्पा प्रहरी कार्यालयमा आएको पुष्टी गरे । हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।
साथै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा भने फरार रहेका छन् ।