Logo
८ मंसिर २०८१, शनिबार
(May 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारततर्फ लैजाँदै गरेको ठूलो परिणामको सुन-चाँदी बरामद, केएल दुगड ग्रुपका कर्मचारी पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ठूलो परिणामको सुन, चाँदीका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ ।

विराटनगर महानगरपालिका-१५ रानीबाट सुन-चाँदी जस्तो देखिने धातुका विस्कुट, सिक्का, ग्लास, थाल, कचौरा, चम्चा, डिनरसेट, सिन्दुर राख्ने सीसी, गुनियाँ, ढिक्कालगायतका सामग्री बोकेको भ्यानसहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भ्यान चालक विराटनगर-२ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ वर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् ।

बिमल कामत र बिनोदकुमार मुरारका विराटनगरस्थित केएल दुगड ग्रुपका कर्मचारी रहेको प्रहरी स्रोतले बताएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको प्रहरी टोलीले शंकास्पद अवस्थामा विराटनगरबाट रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्वरको इको भ्यानलाई रोकी चेक जाँच गरेको थियो ।

सो क्रममा भ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा र भ्यानमा सवार रहेका उनीहरूको शरिर खानतलासी गर्ने क्रममा सुन जस्तो देखिने पहेंलो धातुबाट बनेका बिभिन्न प्रकारका सामान र चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका बिभिन्न प्रकारका सामग्रीहरू बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बिभिन्न दरका भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि बरामद गरेको छ ।

बरामद गरिएका गरगहना, सामान नगद र इको भ्यान समेत गरी करिव ९० लाख मूल्य बराबरको सामग्रीहरू आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइ थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 7, 2023

प्रतिक्रिया दिनुहोस्