Logo
९ आश्विन २०८१, बुधबार
(April 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलले सदस्यको नाम नदिँदा कार्यसूचीबाट हट्यो संसदीय समिति गठनको विषय

ठूला राजनीतिक दलले समयमा संसदीय समितिमा रहने सदस्यको नाम नदिँदा आजको प्रतिनिधिसभाको कार्यसूची परिमार्जन गरिएको छ । संघीय संसद सचिवालयले हिजो नै आजको संसद बैठकको सम्भावित कार्यसूची प्रकाशन गर्दै संसदीय सुनुवाई समिति र विशेष समिति गठनको विषय उल्लेख गरेको थियो ।
तर बुधबार संसद बैठक बस्नुपूर्व बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलले समितिमा रहने सदस्यको नाम नदिएपछि कार्यसूची फेरिएको हो ।

परामर्श समितिमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस, एमाले र माओवादीले सदस्यको नाम नदिएपछि आजको बैठकमा समिति गठन प्रक्रिया अघि नबढ्ने भएको जानकारी दिए ।

बैठकका अध्यक्ष रहेका सभामुख देवराज घिमिरेले छिट्टै नाम दिन दलका प्रतिनिधिहरुलाई ताकेता गरेका थिए । बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरुले आज बेलुकासम्म वा भोलिबिहान सम्म सदस्यको नाम दिने प्रतिबद्धता ब्यक्त गरेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र संयुक्त समितिको गठन हुन नसक्दा संसदको बिजनेश प्रभावित हुँदै आएको छ । संसदीय सुनुवाई समिति बन्न नसक्दा र संवैधानिक परिषद सम्बन्धी संसोधन विधेयक पारित हुन नसक्दा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको ढोका खुल्न सकेको छैन ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व) २०७८–०७९० पेस गर्ने कार्यसूची मात्रै तय गरिएको छ ।

प्रकाशित मिति: Apr 26, 2023

प्रतिक्रिया दिनुहोस्