Logo
११ आश्विन २०८१, शुक्रबार
(April 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छरिएको रकम जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका साना–साना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले घरघरमा छरिएका साना–साना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए ।

अध्यक्ष नेपालले भने– ‘सहकारीको बेग्लै महत्व हुनेगर्छ । कसैले सहकारीलाई निजी भित्र राखेर दुईवटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन् । होइन, यसलाई महत्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रुपमा तीनवटा खम्बाको रुपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन् । तीन खम्बे अर्थतन्त्र अहिलेको नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । यो तीन खम्बा भित्र निजी, सहकारी, राजकीय क्षेत्र पर्छ । यी तीनको अनुपात के हुनुपर्छ भन्नेकुरा पनि बहसको विषय छ ।’

उनले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताए । ‘निजी क्षेत्रले कति अनुपात ओगट्ने, सहकारीले कति र सरकारी क्षेत्रले कति भन्ने छलफल र बहस हुनुपर्छ । हामी चाहन्छौँ घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा हुन पाए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरु उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुनसक्थ्यो’ उनले भने, ‘ लगानीमा उपयोग हुनसक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन । किनभने थोपा थोपाले नै विशाल समुन्द बन्छ । थोपा थोपा रकम जम्मा गर्ने हो भने, मानिसहरुसँग छरिएर रहेका रकम जम्मा गर्ने हो भने त्यसको आकार ठूलो हुन्छ ।’

 

प्रकाशित मिति: Apr 7, 2023

प्रतिक्रिया दिनुहोस्