ज्ञवालीको सम्बन्धमा आवश्यक छानबिन गरी जानकारी गराउन अख्तियारको पत्र गृहमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी (सोमबार मात्रै एआइजी बढुवाको निर्णयमा परेका) श्यामलाल ज्ञवालीको नागरिकता र उमेर विवादका सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको रहस्य खुलेको छ ।
अख्तियारको पत्रलाई बेवास्ता गर्दै गृहले सोमबार क्याबिनेटमा ज्ञवालीलगायत ५ जना डिआइजीलाई बढुवा गर्ने प्रस्ताव लगेको हो । मन्त्री परिषद्ले सोमबारै बढुवा गर्ने निर्णय गरेको थियो ।
अख्तियार स्रोतका अनुसार सोमबार ज्ञवालीमाथि छानबिन गर्न र कारबाही किन गर्न नपर्ने हो ? भन्ने आशयको पत्र गृहमा पुगेको थियो । अख्तियारको निर्देशनात्मक पत्रलाई गृहले लत्त्याइदिएपछि त्यहाँका कर्मचारी आश्चर्य चकित बन्न पुगेका छन् ।
गृह सचिव विनोद सिंहले अख्तियारको पत्र आएको बारे आफूलाई जानकारी नभएको बताए। उनले भने, पत्र आएको होला, मेरो टेवलमा आइपुगेको छैन । ज्ञवालीले एआईजीको फुली नै लगाए पनि छानबिन गर्न मिलिहाल्छ । म के रहेछ बुझ्छु ।
एआईजीमा बढुवा गर्ने निर्णय भएपछि ज्ञवाली आईजीपी बन्ने दौडधुपमा लागेका छन् ।