Logo
११ आश्विन २०८१, शुक्रबार
(March 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीहरू जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्।

आइतबार प्रज्ञा प्रतिष्ठानमा भएको नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभामा बोल्दै उनले ठेकेदार हराएको भन्दै ट्रोलले निर्माण क्षेत्रको चित्र प्रतिबिम्बित हुने गरेको बताए।

‘बेलाबेलामा ठेकेदार हराएको सूचना भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायीहरूको आक्रोश, ट्रोल हुने गरेको छ। त्यसले निर्माण क्षेत्रको वास्तविक चित्रको एक हदसम्म प्रतिबिम्बित गर्दछ,’ उनले भने, ‘तसर्थ निर्माण व्यवसायी अत्यन्त जिम्मेवार, गम्भीर भएर काम गर्नुहुनेछ भनेर विश्वास व्यक्त गर्दछु।’

निर्माण कार्यको ठेक्का लिने तर समयमा काम नसक्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नहुने, विभिन्न तर्कमा समयसीमा लम्ब्याउने र लागत बढाउने जस्ता समस्या यस क्षेत्रमा देखिएको पनि उनले बताए।

यस्ता गुनासोबारे सरकारलाई अवगत भएको उनले बताए।

‘अधिकांश निर्माणसम्बन्धी काम किन समयमै सकिन्न ? ठूला-ठूला राष्ट्रिय राजमार्गहरू नै समयमा निर्माण सम्पन्न नभएर देशले किन सास्ती भोग्नु परिरहेको छ ? निर्माण कार्य समयमै सम्पन्न गर्न महासङ्घको ठोस कार्ययोजना के छ ?,’ उनले सोधे, ‘निर्माण व्यवसायी अत्यधिक नाफामा मात्रै केन्द्रित भए सम्झौताअनुसारको जिम्मेवारी र राष्ट्र निर्माणको कार्यभारमा सारथी भएनन् भन्ने जनगुनासोलाई कसरी सम्बोधन गर्ने ? यो साधारण सभामा यी विषयहरूमा गम्भीर बहस हुनेछ भनी मैले विश्वास लिएको छु।’

ठेक्का लिनपूर्व आफूले उक्त काम सम्पन्न गर्न सक्छ सक्दैन भन्ने सामर्थ्य बुझ्न जरुरी भएको पनि उनले बताए।

प्रकाशित मिति: Mar 12, 2023

प्रतिक्रिया दिनुहोस्