Logo
८ मंसिर २०८१, शनिबार
(February 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै छ : अमेरिका

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ ।

विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गरेका थिए । उनले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गरेका थिए ।

वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा र्यापिड एक्सन बटालियन (आरएबी) माथि प्रतिबन्ध लगाएपछि बङ्गलादेशको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीमध्ये उनी एक हुन् । “यदि कहीँ कतै लोकतन्त्रमा समस्या आयो भने यसले हामी सबै मिलेर के गर्न सक्छौँ भन्ने कारण खोज्नु जरूरी छ,” चोलेटले बुधबार आफ्नो भ्रमणको समापनमा भने ।

“हामी बङ्गलादेशलाई कानून र सुरक्षाको शासनलाई मजबुत बनाउन निरन्तर सहयोग गर्न प्रतिबद्ध छौँ,” उनले भने । उनले भने, “जबसम्म हामी जवाफदेहिता देख्दैनौँ, हामी दिगो सुधार गर्न सक्दैनौँ ।” ढाका र वासिङ्टनबीच सामान्यतया न्यानो सम्बन्ध छ । उनीहरूले सुरक्षाका मुद्दाहरूमा सहयोग गर्छन् र बङ्गलादेशले प्रायःसंयुक्त राष्ट्रसङ्घमा संयुक्त राज्य अमेरिकाको पक्षमा मतदान गर्दछ ।

संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री शेख हसिनाको पार्टीको विधायिकामा हावी भएका कारण बङ्गलादेशको संसदमा सोही दलको एक पक्षीय निर्णय हुँदा प्रजातान्त्रिक मूल्य मान्यतालाई प्रभावित पार्ने गरेको छ । अधिकारवादी समूहका अनुसार सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले करिब दुई हजार ५०० बङ्गलादेशी नागरिकको हत्या गरिसकेको छ ।

आरएबीलाई अधिकारवादी समूहहरूले राजनीतिक विरोधीहरूको हत्या गरेको र पीडितहरूलाई उचित कानुनी प्रक्रियाबाट बञ्चित गर्न गोली हानाहान गरेको आरोप लगाएका छन् । सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ भने एक मन्त्रीले वेपत्तामध्ये केही बङ्गलादेशबाट भागेको बताएका छन् ।

सन् २०२१ को डिसेम्बरमा लगाइएको अमेरिकी प्रतिबन्धमा सात जना बहालवाला वा पूर्वआरएबी अधिकारीहरूको सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध समावेश छ । चोलेटले ढाकामा हसिनासँग भेट गरेका थिए भने पाकिस्तानको औपचारिक भ्रमणसँगै बिहीबार आफ्नो दक्षिण एसिया भ्रमणको समापन गर्दै छन् ।

प्रकाशित मिति: Feb 17, 2023

प्रतिक्रिया दिनुहोस्