अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी
नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी थप्ने तयारी गरेको छ । बिहिबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको एक माओवादी नेताले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउनेगरी प्रस्ताव लैजान लागिएको छ । तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछिमात्रै थाहा हुने ती नेताको भनाइ छ ।
नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापाकोटालाई महरापछिको मर्यादाक्रममा राख्नेगरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको हो ।
महासचिव देव गुरुङले भने पदाधिकारी थप्ने नथप्ने बैठकपछि नै थाहा हुने प्रतिक्रिया दिए । ‘आज बैठक बस्दैछ । बसेपछि नै सवै कुरा थाहा होला । अहिले बाहिर भन्ने कुरा भएन’, महासचिव गुरुङको भनाइ छ । माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।