Logo
१४ आश्विन २०८१, सोमबार
(January 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्ग्यानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भने, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिबद्ध छ ।’’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘‘निजी क्षेत्रलाई विश्वासमा नलिईकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रस्ट राखेको छु।’’

‘‘यस पटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यस पटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रो पटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनै पर्छ।’’

उनले भने, ‘‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यस कारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु।’’

साधारण सभामा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: Jan 13, 2023

प्रतिक्रिया दिनुहोस्