Logo
१४ आश्विन २०८१, सोमबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भागबन्डा मिलाउन केन्द्रको सहारा खोज्दै प्रदेश

कानुनले दिएको अधिकार प्रयोग गर्न प्रदेश सरकार चुकेको चर्चा भइरहेको समयमा अधिकांश प्रदेश सरकार गठनदेखि विस्तारसम्म केन्द्रको मुख ताकिरहेका छन् । यसले सङ्घीयताको मर्ममाथि नै प्रहार भइरहेको छ । साथै प्रदेश सरकारको कार्यक्षमता माथि पनि प्रश्न उठिरहेको छ ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि स्वतः त्यसको प्रभाव देखिएको छ । केन्द्रसहित सातै प्रदेशमा सात दलीय गठबन्धनको सरकार निर्माण र विस्तार हुने प्रक्रियामा छ । तर प्रदेशमा पनि अन्तिम भागबन्डा केन्द्रबाट नै टुङ्गो लगाउनुपर्ने अवस्था आएपछि प्रदेशका नेताहरू काठमाडौँ केन्द्रित हुन थालेका छन् ।

आज बिहान मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटको मुख्य लक्ष्य प्रदेशको भागबन्डा मिलाउने ।

प्रदेशमा भागवण्डा मिलाउन नसकेपछि उनी शीर्ष नेताहरूको दैलो चाहरिरहेका छन् । यो प्रवृदिले प्रदेश सरकार र नेतृत्वको क्षमतामाथि नै प्रश्न उठ्ने गरेको छ ।

अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।

मुख्यमन्त्री अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रालयको शपथ लिए । भागबन्डामा सहमति नजुटेकोले नै उनीहरूलाई मुख्यमन्त्रीले जिम्मेवारी तोक्न सकेका थिएनन् ।

गण्डकी प्रदेशमा मात्र होइन, सातै प्रदेशमा सरकार निर्माणदेखि विस्तारसम्म केन्द्रकै मुख ताक्नुपर्ने अवस्था छ । केन्द्रबाट ठोस सहमतिको खाका नआएपछि मङ्गलवार सरकारमा दाबी गर्न तम्तयार रहेको सत्ता गठबन्धन अन्तिममा पछि हटेको थियो ।

लुम्बिनी प्रदेशमा समेत आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने मागका कारण सत्ता गठबन्धनले सरकारमा दाबी गर्न सकेको छैन । यी दुवै प्रदेशमा भागवण्डा मिलाउन नेताहरूले केन्द्रकै मुख ताकिरहेका छन् ।

केन्द्रले प्रदेश सरकारलाई अधिकार दिन कन्जुस्याइँ गरेको चर्चा भइरहेको अवस्थामा प्रदेश सरकार र त्यहाँका नेताले निर्णायक समयमा देखाएको निरीहताले प्रदेश संरचना र सङ्घीयताको कार्यान्वयनमाथि नै प्रश्न उठ्ने अवस्था आएको छ ।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्