Logo
१४ आश्विन २०८१, सोमबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसद्‍का दुवै सदनको बैठक एकसाथ बस्दै

सोमबार अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको जानकारी दिएका हुन् ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई छ ।

संघीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए । संघीय संसद्मा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ ।

अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको छ । संघीय संसद्मा सांसदहरूले पनि ई–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ज्येष्ठ सदस्य सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्त तथा मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने, सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरुले आफ्नो आफ्नो मन्तव्य राख्ने, प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति: Jan 9, 2023

प्रतिक्रिया दिनुहोस्