जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने
सरकारलाई विश्वासको मत दिने (जसपा) नेपालको आधार तय भएको छ । हिजो (शनिबार) दिउँसो बसेको राजनीतिक समितिको बैठकले उक्त आधार तय गरेको जनाएको छ ।
यसअघि सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा जसपाले राखेका दुईवटा सर्त समेटिएको भन्दै विश्वासको मत दिने आधार तय गरेको उल्लेख गरेको छ ।
जसपा राजनीतिक समितिको बैठकले सरकारलाई विश्वासको मत दिने आधार तय भए पनि पुष २७ गते पृथ्वी जयन्तीमा बिदा दिने विषयप्रति असहत भएको जनाएको छ ।
यस्तो छ जसपा राजनीतिक समितिले गरेको निर्णय :
गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये दुईवटा सर्तहरु समेटिएको देखिन्छ ।
पार्टीका मूलभुत सिद्धान्तहरूको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ । यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ ।
पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको छ ।