जुटेन सहमति, संसद बैठक स्थगित
काठमाडौं । व्यवस्थापिका संसदको बैठक बस्दै नबसी भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ । सहमतिको प्रयासस्वरुप दिउँसो साढे तीन बजेका लागि बोलाइएको बैठक सारेर साँझ ५ बजेको लागि बोलाइएको थियो ।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट रुपमा २ लाख दिनुपर्ने माग गर्दै आज पनि संसद अवरोध गर्ने तयारी गरेपछि संसद सचिवालयले सुचना टाँस गरि बैठक स्थगित गरेको हो ।
कांग्रेससँग सहमतिको प्रयासस्वरुप आज दिनभर कार्यदल र शीर्ष तहमा छलफल भएपनि कुनै सहमति बन्न नसकेको बताइएको छ ।
नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले कुनै पनि हालतमा भूकम्पपीडितले एकमुष्टरुपमा २ लाख रुपयाँ पाउनु पर्ने भन्दै त्यो माग पूरा नभएसम्म संसद चल्न नदिने रातोपाटीलाई बताए ।
यस्तै राप्रपा नेपालका सांसद सुशील श्रेष्ठले भूकम्प पीडितले राहत पाउनुपर्नेमा सबै दलबीच एकमतता रहेको भएपनि विगतमा बनेको कार्यदल विपरित कांग्रेस जाँदा समस्या उत्पन्न भएको बताए ।