Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुरामलाई भेट्न प्रचण्ड अस्पतालमा : छिट्टै नयाँ छलफल हुने

रमेश गिरी र रत्न श्रेष्ठ/रासस, भक्तपुर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे मंगलबार गम्भीर छलफल भएको छ ।

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारमा रहेका डा. भट्टराईको स्वास्थ्य अवस्था बुझ्न मंगलबार अपराह्न अस्पताल पुगेका दाहालले भेटका क्रममा गम्भीर छलफल भएको उल्लेख गर्दै छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुने विश्वास ब्यक्त गरे ।

पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच करिब आधा घण्टो छुट्टै छलफल भएको थियो ।

अस्पतालमा उपचार गराइरहेका डा भट्टराईसँगको भेटपछि अध्यक्ष दाहालले उपचारको क्रम चलिरहेको रस्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै छिट्टै घर फर्किने विश्वास व्यक्त गरे ।

करिब एक वर्षदेखि नियमित रुपमा डा भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताउनुभयो । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर मंगलबार बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिए ।

अस्पतालका अध्यक्ष पुष्पमान अमात्यले विदेशमा हुने कतिपय उपचार यहीँ हुने भएकाले स्वदेशमै नेताहरुले उपचार गराउनुपर्ने बताए ।

डा भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार राति सभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् । अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले डा भट्टराईको उपचार बुधबारसम्म चल्ने र अपराह्न २ बजे घर फिर्ता पठाइने जानकारी दिए ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्