Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ssp हरुको सरुवामा कांग्रेसीकरण, प्रहरीकै मिलेमतोमा तस्करी र अवैध धन्दा’

काठमाडौं : नेपाल प्रहरीले २०७४ साउन १७ गते गरेको ७० एसपी सरुवामा प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायी प्रहरी अधिकृतलाई भन्दा पनि राजनीतिक आस्थाका अधिकृतहरुलाई छानीछनी सरुवा गराएका छन् । आगामी २०७४ माघ ७ गते भित्र हुने भनिएको प्रदेश सभा र संसदको निर्वाचनलाई दृष्टि दिएर राजनीतिक हिसाबकिताब र क्षेत्रीयतावादी सोच राखेर ७० एसपी सरुवाहरुको सरुवा गरिएको छ । सरुवा भएका ७० मध्ये १३ एसपी एसएसपी बढुवा भइसकेका छन् ।

एसपी सरुवामा प्रधानमन्त्री देउवा र गृहमन्त्री जनार्दन शर्माले आ–आफ्नो क्षेत्र मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका धेरै एसपीलाई राम्रो माल कमाउने ठाउँ दिएका छन् । गृहमन्त्री जनार्दन शर्माको मध्यपश्चिमाञ्चलका अधिकृतहरुले पनि त्यस्तै अवसर पाएका छन् । प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्माका क्षेत्रका भाग्यमानी एसपीहरुले इन्चार्जबाट इन्चार्ज नै बन्ने अवसर पनि पाएका छन् । एसपीमा लगातार ४ पटकसमम इन्चार्ज पाउने पनि छन् । कतिपय व्यवसायिक एसपीहरुले भने एक पटक पनि इन्चार्ज पाएका छैनन् । ४ महिनाअघि इन्चार्जबाट सरुवा भएकालाई पुनः इन्चार्ज दिइएको छ ।

तर ३ महिनाअघि महोत्तरी जिल्ला प्रहरी कार्यालयमा काज सरुवा गरिएका एसपी राजकुमार लम्साललाई दरबन्दी कायम नगरी इटहरी क्षेत्रीय ट्राफिक कार्यालयमा खेदिएको छ । प्रधानमन्त्री देउवाले क्षमता नै नभएका कुवेर कडायतलाई महोत्तरीको इन्चार्जमा सरुवा गरेका छन् । पटक–पटक इन्चार्ज पाएका दंगा नियन्त्रण प्रहरी गण कोहलपुरका वीरेन्द्रकुमार बस्यालले प्रधानमन्त्री देउवाकै कृपामा यो पटक नुवाकोट जस्तो माल कमाउने जिल्ला पाएका छन् । उनी इन्चार्ज बिना बस्नै नसक्ने एसपीका रुपमा परिचित छन् ।

प्रधानमन्त्रीकै कृपामा गोरखसिंह भण्डारी स्याङ्जा र दुर्गा सिंह दाङको प्रहरी प्रमुखमा सरुवा भएका छन् । घुसमा निर्लिप्त हुने र सोलुखुम्बुको प्रमुख हुँदा यौन दुव्यर्वहार गरेको आरोपमा २ ग्रेड रोक्का भएका योगबहादुर पाल पनि क्षेत्रीय ट्राफिक प्रहरी अत्तरिया कैलालीको इन्चार्ज भएका छन् । देउवाकै कृपामा जनक पाण्डेले धनगढी गण पाएका छन् । प्यूठान घर भएका र माओवादी केन्द्रसँग निकट भएको भन्दै श्यामलाल ज्ञवालीले रुपन्देही जस्ता महत्वपूर्ण जिल्ला पाएका छन् । पूर्व आइजीपी उपेन्द्रकान्त अर्यालले अवकाश हुने बेलामा उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरी पुनः अपराध अनुसन्धान महाशाखामा पठाएका थिए ।

बौद्ध वृत्तदेखि सिरहामा बस्दा समेत उनी रकम असुलीका मामलामा विवादमा परेका थिए । लोकमानसिंह कार्कीको आडमा रुपन्देहीमा सरुवा हुनका लागि अख्तियारमा सरुवा भएका टेकबहादुर तामाङले बाँकेको इन्चार्ज पाएका छन् । अख्तियारका आयुक्त राजनारायण पाठकको बलमा यसअघि धनुषा वा महोत्तरीको इन्चार्ज हुन भरमग्दुर प्रयत्न गर्दा पनि उनले सकेका थिएनन् । अहिले आयुक्त पाठककै जोडमा उनले बाँकेको इन्चार्ज बन्ने अवसर पाएका छन् ।

धनुषामा प्रहरीकै मिलेमतोमा तस्करी र अवैध धन्दा
धनुषामा सशस्त्र र नेपाल प्रहरीको प्रत्यक्ष संलनतामा धनुषाको विभिन्न नाकाहरुबाट तस्करी फस्टाएसँगै चोरी, डकैती, बलात्कार, वेश्यावृत्ति, अवैध मदिरा उत्पादन जस्ता क्रियाकलापमा वृद्धि भएका छन् । यस्ता कार्यमा प्रहरी प्रमुखदेखि चौकी इन्चार्ज र बोर्डर आउट पोस्टका इन्चार्जसम्मको समेत संलग्नता रहेको खबर छ ।

नाममात्रको सीमा प्रहरी
धनुषामा जम्मा दुई वटा मात्र सीमा प्रहरी चौकी रहेका छन् । सीमा प्रहरी चौकी जटही र दुहबी । दुवै नाका अत्यन्त चालु र तस्करहरुको मुख्य बाटो भएका कारण कमाईका हिसाबले प्रहरीहरुको मुख्य रोजाई रहेका छन् । सई धर्मेन्द्र ठाकुर धनुषा आउँदा जिल्ला प्रहरीको मुद्दा शाखामा केही दिन बसेका थिए । मुद्दामा बस्दा पीडित र पीडक दुवैसँग घुस लिने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । उनी मुद्दामा बस्दा पनि बद्नामी कमाएका जुनियर प्रहरी अधिकृत हुन् ।

जिल्लामा हुँदा तत्कालीन एसपी रामदत्त जोशीलाई रिझाएर प्रहरीको पहिलो रोजाईमा रहेको सीमा प्रहरी चौकी जटहीमा कार्यरत देवसागर तामाङलाई विस्थापित गराई ठाकुर गएका थिए । त्यहाँ तस्करसँग मिलेर कुस्त रकम आर्जन गरेका ठाकुर तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका भाइसँगको विवादमा परी धनुषाकै ढल्केवर तानिएका थिए । ढल्केबरमा इन्स्पेक्टरको दरबन्दी छ । तर, ट्वाइसी भई हाकिमको आँखामा धुलो हाली ढल्केबरमा अवैध यौन व्यवसायीलाई प्रश्रय दिई होटेल तथा लज सञ्चालकहरुसँग मासिक रकम असुलेको आरोप उनीमाथि छ ।

केही महिनामै सई ठाकुरले एसपी लालमणि आचार्यलाई आफ्नो प्रभावमा पारी पुनः त्यहाँ कार्यरत देवसागर तामाङर्ला विस्थापित गरी रोईकराई दुहबी पुगेका हुन् । प्रहरीमा आउनु अघि ठाकुरको अधिकांश समय मामाघरमा बितेका कारण हाल तस्करीलगायत सानो तिनो झैझगडामा पनि जनतासँग मोटो रकम असुल गरी दुःख दिने गरेको आरोप छ । तस्कर सुरेश साहलाई सीमा प्रहरी चौकीका इन्चार्ज सई धर्मेन्द्र ठाकुरले स्कर्टिङ गरेर तस्करी गराइरहेका प्रहरी स्रोत बताउँछ । सीमा प्रहरी चौकी दुहबीदेखि २ सय मिटर दक्षिण नेपाल भारत बोर्डरमा अवस्थित सलहैता पोखरीको डिलमा रहेको मन्दिरमा तस्कर सुरेश साहको गोदाम रहने गरेको छ ।

रातिराति सई ठाकुरले आफ्ना घुमुवा रामजीलाई ट्याक्टरमा माल सामानसँगै ढल्केवरसम्म पठाउने गरेको रहस्य सार्वजनिक भएको छ । हाल सीमा प्रहरी चौकी दुहबीका घुमुवा साह आफन्तसँग भन्ने गर्छन्–आफू सानो दर्जाको कर्मचारी हाकिमले अहएको काम मात्र गर्छु । आफू घुमुवा नबसे पनि जो कोही बस्ने उनको भनाई छ । घुमुवा बस्ने सो नाकाबाट महिनामा ५ देखि ७ लाख रुपैयाँ सम्म कमाउने गरेको बताइन्छ । यहाँको पहिलो कमाई तस्करी हो भन्ने दोस्रो कमाई चौकीमा परेको झैझगडाको निवेदन र अवैध सञ्चालन गरेका गैरकानुनी र असुरक्षित गर्भपतनका क्लिनिक रहेको छ ।

सशस्त्र प्रहरी के कम ?
नेपाल प्रहरीको पहिलो रोजाई सीमा प्रहरी चौकी जटही र दुहबी पछि दोस्रो रोजाई भनेको इलाका प्रहरी कार्यालय खजुरी रहेको छ । त्यस्तै सशस्त्र प्रहरीका लागि पहिलो रोजाई बोर्डर आउट पोष्ट खजुरी हो । सो बोर्डर क्षेत्र सदरमुकाम जनकपुरदेखि करिब २२ किलोमिटर पूर्वमा पर्छ । खजुरी इलाका वा बीओपीको मतहतमा महुवा, कठाल, बल्हा र भारतको जयनगर बजारको मुख्य नाका इनर्बा पर्दछ ।

सदरमुकाम जनकपुरबाट खजुरी पुग्न बाटोघाटो राम्रो भएका कारण तस्करहरुका लागि सुरक्षित नाका मानिएको छ । त्यहाँबाट भित्रिएका भंसार छली र चोरीका मालसमान राजमार्गसम्म पुर्याउने मुख्य गन्तव्यको रुपमा रहेका छन् भने प्रहरीको लागि अर्को आकर्षक भनेको अवैध मदिरा उत्पादनबाट आउने महिनावारी हो । सशस्त्र र नेपाल प्रहरीका इन्स्पेक्टरद्वय क्रमशः दिवाकर राउत र होमप्रसाद अधिकारीले खुलेआम अवैध मदिरा तथा ठूला साना तस्करहरुबाट महिनावारी असुल्ने गरेको आरोप छ, खबर साँघुमा उल्लेख छ ।

खजुरी नाकाबाट गफार मियाँ, प्रदिप साह, लक्ष्मण साह, श्रवण साह, महेन्द्र पूर्वे, जयकुमार पजियार, छोटु एहसानलगायतका तस्करहरु लत्ता कपडा, चिनी, सुर्ती, सुपारी, एसबेसडस, खाने तेल, कुखुराका चल्ला, गुट्खा लगायतका प्रतिबन्धित सरसमानहरु प्रहरीकै संरक्षणमा भित्र्याउने गरेको खबर छ । सशस्त्र प्रहरीको बोर्डर आउन पोस्टरका इन्स्पेक्टर राउतले हाल असुली प्रक्रियालाई तीब्र बनाएको समाचार स्रोत बताउँछ ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्