Logo
१४ आश्विन २०८१, सोमबार
(December 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : अध्यक्ष चौधरी

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरूले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले कुरा गर्दै भनिन्– ‘‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घटनाका आरोपीहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवं मौखिक प्रतिबद्धता गरेपनि कार्यान्वयन भने गरेनन् । ’’

अध्यक्ष चौधरीले उनीहरू निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकिर गरिन् । नेता तथा मन्त्रीहरूले यो राजनीतिक प्रकृतिको घटना भएकोले उनीहरू रिहा हुनुपर्छ भनिरहेका तर रिहाइको पहल भने नगरेको उनको गुनासो थियो ।

उनले भनिन् ‘‘यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो । हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।’’

अघिल्लो अर्थात् केपी ओलीको सरकारका पालामा विसं २०७७ फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा विसं २०७८ जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान संघर्ष समितिका प्रमुख रुकमिणी चौधरीसहितको टोलीबीच टीकापुर घटनाका आरोपीहरुलाई रिहा गर्ने विषयमा लिखित सम्झौता भएको थियो ।

उनको जिज्ञासा थियो ‘‘यसपटक पनि सरकारले न्याय दिन्छु भनेको छ, सरकारले अध्यादेश जारी गरेको हामीले सुनेका छौँ, पहिलेजस्तै आश्वासन मात्र हो कि वास्तवमै सरकारले न्याय दिन्छ हेरौँ ।’’ उनले आफू र आफ्नो पार्टीले अरु केही नमागेर निर्दोषहरुलाई जेलबाट रिहाइ मात्र मागेको बताइन् । जनताले भने आफू र रेशम चौधरीलाई न्याय दिएको उनको भनाई छ । आफ्नो निर्वाचन प्रचारप्रसारका क्रममा पनि नागरिकले रेशम निर्दोष रहेको र यसका लागि आवश्यक परे आफूहरुले आन्दोलन पनि सुरु गर्ने बताएका उनले सुनाइन् ।

चौधरीले भनिन्– ‘‘कैलालीका जनताले अन्यायका विरुद्धमा मतदान गर्नुभएको छ, सबैले रेशमलाल चौधरीसहित जेलमा रहनुभएका निर्दोष युवाको रिहाइका लागि जनमत प्रकट गर्नुभएको छ । मत माग्दै जाँदा मलाई लाग्छ सबैको चासो पनि यही थियो । उहाँहरुले यो अन्यायका विरुद्धमा मत प्रकट गरेर मतमार्फत् रेशमलगायतका बन्दीहरुको रिहाइको अपिल गर्नुभएको छ ।’’

निर्वाचित भएपछिका दिनहरु उनले आफ्ना मतदातालाई धन्यवाद दिएर बिताइरहेका छन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरी निर्वाचित भएका थिए । निर्वाचित भएपछि कैलालीमा आत्मसर्मपण गरेका चौधरी हाल जेल जीवन बिताइरहेका छन् । उनी जेलमा रहेकाले यस क्षेत्र पाँच वर्षसम्म नेतृत्वविहीन भयो । यसपटक भने रेशमकै धर्मपत्नी रञ्जिता श्रेष्ठ यसै क्षेत्रबाट भारी मतान्तरले विजयी भएकी हुन् ।
गत सातामात्रै नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा पत्रकार सम्मेलन गरी टीकापुर घटनाको मुद्दा सरकारले फिर्ता लिनुपर्ने प्रमुख माग राखेको छ । नागरिक उन्मुक्तिले कैलालीका एक, दुई र तीनगरी तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितको छ ।

आफ्नो निर्वाचन क्षेत्रबारे उनी भन्छिन्, ‘‘मेरो निर्वाचन क्षेत्रमा धेरै समस्याको चाङ छ । म निर्वाचनका बेला जहाँ पुगे समस्या मात्रै देखेका छु । यहाँ अभाव, गरिवी, समस्या धेरै छन् । यी सबै कुरा पाँच वर्षमा एकएक गर्दै सुधार्नु छ । जहाँ जहाँ पुगे त्यहाँ स्वास्थ्य, बाल शिक्षा, शुद्ध खानेपानीको अभाव, रोजगारीका अवसरको कमी, विपद्को जोखिम, बाढीको पीडा, सडक विस्तार नभएका जस्ता विविध समस्या छन् । यी धेरै समस्यालाई पाँच वर्षमा विस्तारै पूरा गर्दै जाने योजना छ ।’’

प्रकाशित मिति: Dec 14, 2022

प्रतिक्रिया दिनुहोस्