भाजपा नेता जगदम्बिका पाल काठमाण्डौमा, नेपाल सरकारद्वारा बिशेष सुरक्षाको सुविधा
छिमेकी देश भारत स्थित सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका नेता जगदम्बिका पाल आज बिहान नेपाल आइपुगेका छन् । हाम्रो नेपालमा प्रतिनिधिसभा जस्तै त्यहाँको लोकसभा सदस्य तथा उर्जासम्बन्धी संसदीय समितिका सभापति जगदम्बिका पाल बिहान ९ बजे एयर इण्डियाको उडानबाट काठमाण्डौमा ओर्लिएका हुन् ।
उनको आजै साँझ ५ बजे भिस्तारा एअरको उडानमा दिल्ली फिर्ता हुने कार्यक्रम रहेको छ । गत कार्तिक १४ गते दिउँसो १ बजे ११ जनाको टोलीसहित आएर जगदम्बा सिमेन्टका साहुजीको महाराजगन्जस्थित गेस्ट हाउसमा बसेका उनी भोलिपल्ट बिहान १० बजे फर्केका थिए ।
आज भने उनीससंग रितेश पाण्डेसहित अरु दुई जना छन् । छोटो समयको लागि आउने-जाने उनको भ्रमणको कारण खुल्न सकेको छैन । नेपाल सरकारले भने उनलाई बाइक एस्कर्टिङ्गसहितको बिशेष सुरक्षा सुविधा उपलब्ध गराएको छ ।
उत्तर प्रदेशका एकदिने मुख्यमन्त्री उपनामले प्रसिद्ध पाल यसअघि भारतीय कांग्रेसका नेता थिए । पछि भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए । हाल उनी उत्तरप्रदेशबाट सांसद हुन् ।