Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गामा अनियमितता गर्नेलाई कारवाही नगरे मन्त्री छोड्छुः मण्डल

विराटनगर : वाणिज्य तथा आपूर्ति मन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले खरिद गरेको जग्गामा अनियमितता ठहर भए कारवाही गर्न कुनै तागतले रोक्न नसक्ने बताएका छन् । कारवाही थाले ‘समस्या’ हुने र थाम्नै नसक्ने ‘दबाब’ आउने चेतावनीपूर्ण खवरहरु आफूसमक्ष आइरहेको समेत मन्त्री मण्डलले खुलासा गरे ।

नेपाल आयल निगमले चार जिल्लामा खरिद गरेको जग्गामा भएको अनियमितता ढाकछोप गर्न चलखेल भइरहेको बेला आपूर्ति मन्त्री मण्डलले जग्गा खरिदमा बदमाशी देखिए कारवाही कुनै ‘शक्ति केन्द्र’को प्रभाव र दबाबमा नरोकिने दाबी गरे । उनले निगमको जग्गा खरिद प्रकरण बारे माहान्यायाधिवक्ता मार्फत कानूनी सल्लाह लिइरहेको जानकारी पनि दिए ।

‘कतिपयले जग्गा खरिद प्रकरणमा कारवाही गर्दा समस्या हुने र कैंयौं ठाउँबाट आउने फोन कल थाम्न सक्नुहुन्न भन्ने खालको खवर सुनाइरहेका छन,’ विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आपूर्ति मन्त्री मण्डलले भने, ‘कसैको तागतले पनि कारवाही प्रकृया रोकिँदैन, शंका नगरे हुन्छ मैले मन्त्री छोड्नु पर्ने अवस्था आए बरु छोडौंला ।’

लेखा समितिले अख्तियारलाई दिएको प्रतिवेदनबारे आफूलाई जानकारी भएको र मन्त्रालयले पनि छानविनको लागि छलफल अघि बढाएको मन्त्री मण्डलले बताए । आपूर्ति मन्त्री मण्डलले भारतीय आयल कोपरेशन(आइओसी)सँग मिलेर नेपाल आयल निगमले पेट्रोलपम्प खोल्नेबारे आफूलाई जानकारी नभएको बताए ।

उनका अनुसार आइओसी र एनओसीबारे सबै विषय बुझ्न बाँकी छ । उनले चाडबाडको समयमा हुने कृत्तिम अभाव नियन्त्रणका लागि आफूले सबै विभागलाई निर्देशन दिएको बताए । ‘मन्त्रालय सम्हालेदेखि अनुगमन भए/नभएको पनि हेरिरहेको छु, दशैं–तिहारमा हुने कृतिम अभावलाई नियन्त्रण गर्ने र प्रभावकारी अनुगमन गर्ने, कालोबजारी गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी राखिन्न,’ उनले भने ।

२५ किलोको माला
यसैबीच मन्त्रीभएपछि पहिलो पटक गृहनगर आएका आपूर्ति मन्त्री मण्डललाई नेकपा माओवादी केन्द्र मोरङले २५ किलोको माला पहिर्‍याएर स्वागत गरे । एयरपोर्टमा सयौंको संख्यामा पुगेका माओवादीका नेता– कार्यकर्ताले मन्त्री मण्डललाई स्वागत गरे ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्