Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्तनपानलाई प्रोत्साहित गर्न सुत्केरी बिदा ६ महिना पुर्‍याउने तयारी

काठमाडौं : पछिल्लो समयमा स्तनपान गराउनेको संख्या घटेपछि सरकारले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍‍याउने तयारी सुरु गरेको छ। सरकारले अहिले निजामति सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन दिदैं आएको छ । यतिले नपुगेको भन्दै स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउने तयारी सुरु गरेको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य महाशाखाले आज काठमाडौंमा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सदस्यलाई यसबारेमा जानकारी गरायो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र प्रसाद पन्तले जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा सुधारको आवश्यकता रहेको हुदाँ सुत्केरी बिदा ६ महिना पुर्‍याउनु पर्ने बताए ।

‘पछिल्लो समय धेरै आमाहरु जागिरे छन्। बच्चालाई स्तनपान गराउन नपाएकै कारण महिलालाई सुत्केरी बिदा ६ महिना पुर्‍याउनुपर्ने आवश्यकता छ ।’ नेपालमा वर्षेनी कति महिला सुत्केरी हुन्छन् भन्ने यकिन तथ्याङक कुनै पनि निकायसँग छैन् । व्यवस्थापिका–संसद् सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा दुई सन्तानका लागि मात्र सुत्केरी बिदा लागू हुने व्यवस्था गरिएको छ ।

शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधानअनुसार मन्त्रालयले सो विधेयक मस्यौदा तयार गरी प्रस्तुत गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयक आफ्नो समितिमा आएपछि छलफल अगाडि बढाइने बताइन् । विश्व स्वास्थ्य संगठनका अनुसार २ वर्षसम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन । यो प्रतिशत वर्षेनी घट्दो छ ।

हेलेन केलर इन्टरनेशनलका प्रमुख कार्यक्रम संयोजक डा. अतुल उपाध्याय स्तनपानको महत्व बारेमा ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव भएको बताउँछन् । शहरी क्षेत्रमा आमाको दूधको विकल्पमा अन्य वस्तुको प्रयोग गर्नेहरुको संख्या बढ्दो रहेको उनले जानकारी दिए । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ ।

सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको नीतिअनुसार सुत्केरी बिदा १०३ दिन हुनुपर्छ । श्रम नियमावली २०५० अनुसार ९० दिन पारिश्रमिकसहित बिदा दिने प्रावधान छ। तर सुत्केरीले उक्त प्रावधानमा उल्लेख भएभन्दा ३० दिन कम बिदा पाउँछन् ।

प्रकाशित मिति: Aug 5, 2017

प्रतिक्रिया दिनुहोस्