रंगिन दुनियाँ : नयाँ अवतारको पर्खाइमा अनुष्का
सानैदेखि हिरोइन बन्ने सपना देख्थिन्, अनुष्का शर्मा । त्यसैले स्कुल, कलेजमा पढाइसँगै नाचगान र अभिनयमा पनि अघि सर्थिन् । कालान्तरमा उनले आफूलाई पर्दाको रंगिन दुनियाँमा प्रस्तुत गरेरै छाडिन् । अर्थात्, उनी हिरोइनका रूपमा प्रस्तुत भइन्–‘सान’ फिल्मबाट । चार वर्षअघि बनेको सानभन्दा अघि उनले केही फिल्ममा उमेरअनुसारका छोटा भूमिकामा अभिनय गरेर आफूलाई पर्दाका लागि अभ्यस्त बनाइसकेकी थिइन् ।
‘स्कुल पढ्दैखेरि केही फिल्ममा अभिनय गरेँ,’ उनी भन्छिन्, ‘त्यहाँबाट अभिनयसम्बन्धी धेरै कुराको ज्ञान हासिल गर्दै गएँ ।’ उनले कसलाई ‘दिऊँ यो जोवन’, ‘द फ्ल्यासब्याक’, ‘तुलसी’लगायतका फिल्ममा स–सानो भूमिका निर्वाह गरेकी थिइन् । ‘पछि मैले अभिनय र नृत्य पनि सिकेँ,’ उनी भन्छिन्, ‘काम गर्दै जाँदा पनि कतिपय कुरा सिकियो । साथमा तालिम पनि लिएँ । त्यसपछि नै सानमा हिरोइन बनेकी हुँं ।’ रामजी लामिछानेको निर्देशनमा कृष्ण श्रेष्ठले निर्माण गरेको फिल्ममा आफूले झरना थापा, सुमन सिंहजस्ता सिनियर कलाकारसँगै अभिनय गर्न पाउँदा धेरै कुरा जान्न पाएको अनुभव उनको छ ।
पोखराकी अनुष्काले सानपछि ‘डी–कम्पनी’, ‘विष्फोट’लगायत एउटा भोजपुरी फिल्ममा पनि अभिनय गरेकी छिन् । अब भने उनी दर्शकमाझ नयाँ अवतारमा प्रस्तुत हुन चाहन्छिन् । ‘म बुटवल बस्ने गर्थें, तर अब काठमाडौं बस्न थालेकी छु,’ आफ्नो तयारीबारे उनी भन्छिन्, ‘अभिनय र नृत्यको स्पेसल कोर्स गरिरहेकी छु । केही फिल्मको अफर आइरहेको छ । छिट्टै नै दर्शकमाझ नयाँ रूपमा प्रस्तुत हुनेछु ।’
मिथिला शर्माको अभिनय मन पराउने अनुष्का कलाकारितामै करिअर अघि बढाउने प्रयत्नमा छिन् । आफू अभिनीत विष्फोट र डी–कम्पनी रिलिज नहुनाले उनलाई टेन्सन भइरहेको रहेछ । ‘ती दुई फिल्ममा मैले अभिनय देखाउने मौका पाएकी छु । तर, फिल्म कहिले दर्शकमाझ आउँछन्, थाहा छैन ।’ नाम कमाउने ध्येयले कलाकारिता रोजेको बताउने अनुष्काले स्कुल जीवनमा वकिल बन्ने लक्ष्य राखेकी थिइन् । पछि उनलाई प्रहरी सेवामा जाने इच्छा पनि पलाएछ ।
‘वकिल त बन्न सकिनँ, तर डी–कम्पनी फिल्ममा भने पुलिस इन्स्पेक्टरको भूमिकामा छु । कुनै दिन कुनै फिल्ममा वकिलको रोल गरेँ भने कुनै वेलाको सपना पूरा भएको ठान्नेछु ।’ आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी देश–विदेशमा आयोजना हुने गरेको साँस्कृतिक कार्यक्रममा समेत व्यस्त हुने गरेकी छिन् ।