Logo
९ मंसिर २०८१, आईतबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानविकी अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सिकाउने भएकाले दबाएकाे आराेप

मानविकी विषयकाे अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सराेकारवालाहरूले आराेप लगाएका छन् ।

बुधबार भक्तपुरमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सक्ने क्षमता बढाउने भएकैले यसलाई नीतिगत रूपमै पछाडि पारिएको हुनसक्ने आशंका गरिन् ।

मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप कलेज देकोचा भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा सैजूले मानविकीको मुख्य आकर्षण भनेकै प्रश्न गर्न सिकाउनु रहेको बताइन् । ‘यसको अध्ययनले विद्यार्थीमा समाज किन वर्गमा विभाजित छ भन्ने प्रश्न गराउन सिकाउँंछ,’ उनले भनिन्, ‘समाज धनी र गरिब दुई वर्गमा विभाजित छ भन्ने सिकाउँंछ र यही कारणले यसलाई नीतिगत रूपमै दबाइएको हुन सक्छ ।’

उनले प्रश्न वास्तवमै ठूलो हतियार भएको बताइन् । प्रश्न गर्नसक्ने क्षमताले समाधान निस्कने उनको भनाइ छ । उनले मानविकी संकाय अध्ध्ययन गर्नु भनेको समाज अध्ययन गर्नु रहेको बताए । ‘समाज अध्ययन गर्नु भनेको समाजका समस्याहरू खोतलखातल गर्न सिकाउनु र समाधान पत्ता लगाउन सक्ने बनाउनु हो,’ उनले भनिन् ।

कार्यक्रम चार चरणमा विभाजन गरी भएको थियो । पहिलो चरणमा मानविकी संकायको विषयमा कलेजको मानविकी संकायअन्तर्गत विए बिएएसडव्लू तथा एमए इंग्लिसका इन्चार्ज कमिनिका न्याइच्याईले प्रस्तुतीकरण गरेका थिए । दोस्राे चरणमा कलेजका पत्रकारिताका सहप्राध्यापक सृजना खड्काको मध्यस्थतामा बागमती प्रदेशका सांसदद्धय सुरेन्द्रराज गोसाई र सृजना सैंजूसँंग मानविकी संकायबारे छलफल गरिएको थियो ।

तेस्राे चरणमा सहभागीहरूसँंग प्रश्न लिएर प्रश्नउत्तर गरिएको थियो । अन्तिम चरणको फिडब्याक सेसनमा कलेजका प्राचार्य रूपक जोशी, सहप्राचार्य डा.राजेशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलेज र विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरू सहभागी भएका थिए ।

मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई अझ व्यापक बनाउन कार्यक्रम गरेको कलेजले जनाएको छ । आयोजक कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चारवटै संकायमा स्नातकोत्तर तहसम्मै अध्ययन हुन्छ ।

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्