न्यु जेनिथ र ग्रान्डीलाई ऋत कप
न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । न्यु जेनिथ ब्वाइज तथा ग्रान्डी गर्ल्समा च्याम्पियन बने ।
बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३-८ ले पराजित गर्यो । न्यु जेनिथको जितमा सुसन मगरले ७ अंक योगदान गरे । आयोजक ऋतले एन्जल्स हार्टलाई १४-१२ ले हराउदै तेश्रो भयो ।
गर्ल्सको उपाधि भिडन्तमा समिरा घिसिङको ४ अंक सहयोगमा ग्रान्डीले एसिया प्यासिफिकलाई ११-५ ले पाखा लगायो । युनिकले बलर्स एकेडेमीमाथि ८-५ को जित दर्ता गर्दै तेश्रो स्थानमा रह्यो ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५०० नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययन गर्न चाहे ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने ऋतका सीईओ सिद्धार्थ लामाले जनाएका छन् । ऋतमा विज्ञान, मानविकी, कानुन, व्यवस्थापन र ललित कलाको पढाइ हुन्छ ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुसन र समिरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, ऋतका को-ओर्डिनेटर खेमनाथ पौडेल, उप प्राध्यापक डा. चन्द्रमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ८४ तथा गर्ल्समा १६ गरी ९० टिम सहभागी थिए ।