विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई भारतीय दूतावासले दियो ७५ एम्बुलेन्स र १७ बस
काठमाडौंस्थित भारतीय दूतावासले नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र गैर नाफामुलक संस्थाहरुलाई बस र एम्बुलेन्स उपहार दिएको छ ।
भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।
बस र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गरेका थिए ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ कार्यक्रम अन्तर्गत यी एम्बुलेन्स र बस हस्तान्तरण गरेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।