Logo
१० मंसिर २०८१, सोमबार
(June 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाण्डेको नियुक्ति विधान विपरीत नभएको एन्फाको प्रस्टोक्ति

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ ।

बुढानीलकण्ठस्थित पार्क भिलेजमा ६ असारमा भएको एन्फाको चुनावी साधारण सभाले पंकज विक्रम नेम्बाङलाई नयाँ अध्यक्षमा घोषणा गरेको थियो । दुई दिनपछि शपथसँगै बसेको एन्फाको कार्यसमिति बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्ति गरेको थियो ।

जर्मन नागरिक पाण्डेको नियुक्तिसँगै चौतर्फी आलोचना भएपछि एन्फाले सोमबार सूचना जारी गर्दै स्पष्टोक्ति दिएको हो ।

‘पाँडेको नियुक्तिलाई लिएर उठेका केही सवालहरूबाट यस संघको ध्यानाकर्षण भएको छ । सो निर्णय दाबी गरे अनुरूप विधान विपरीतको नभएको जानकारी गराउन चाहन्छौं । पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिकरुपमा सो पदमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै विधानको धारा २४ को ३ र क मा स्पष्टसँग ‘गैर नेपाली नागरिक एन्फा, वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन सक्ने छैन भनेर व्याख्या गरिएको र फुटबलको विकासका लागि मुख्य प्रशिक्षक, प्रशिक्षक लगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लागि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले कार्यसमितिको त्यो निर्णयले विधान नमिचेको पनि सूचनामा एन्फाले उल्लेख गरेको छ ।

एन्फाको अन्तर्राष्ट्रिय प्रमुख भएसँगै पाण्डे भने हिजो (आइतबार) नै जर्मन प्रस्थान गरिसकेका छन् ।

प्रकाशित मिति: Jun 27, 2022

प्रतिक्रिया दिनुहोस्