छाउपडी-प्रथा विरुद्धका अभियन्ता नै फर्किए छाउगोठ
पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमकला विक छाउपडी (रजस्वला) बार्ने चलनविरुद्धको अभियानमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमकला नै छाउगोठमा सुत्न बाध्य छिन् । गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् ।
‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे’, उनी भन्छिन्, ‘त्यसबेला गाउँका सबै चुप भए, हामीले घर-घरमा पुगेर छाउगोठ भत्कायौं । अहिले अभियान हरायो, एक्लै प्रतिवाद गर्न सक्ने अवस्था छैन ।’ धार्मिक अन्धविश्वासका कारण गाउँलेले फेरि छाउगोठ ठड्याउन थालेको उनी बताउँछिन् । छाउ नबार्दा अनर्थ भएको भन्दै दबाब दिएपछि अहिले आफू पनि महिनावारी हुँदा गोठमा सुत्ने गरेको उनको भनाइ छ ।
उमकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेकाहरू नै अहिले छाउगोठमा जान बाध्य छन् । अभियान कमजोर भएको र छाउ बार्ने पक्षधर बलियो हुँदै गएपछि अभियन्ता नै छाउगोठमा सुत्नुपर्ने अवस्था आएको हो । जिल्लाको पश्चिमी क्षेत्र बाबियाचौर, तातापानी, विद्यापुर, गुटु, घाटगाउँ र बेतानमा अभियान सञ्चालन हुँदा महिला र किशोरी नै अभियानको नेतृत्वकर्ता थिए । हिजोआज उनीहरू आफैं छाउगोठमा फर्किएपछि स्थानीय धामीझाँक्रीको मनोबल बढेको छ ।
अभियानका बेला छाउगोठ भत्काउन सहमति दिने धामीझाँक्रीले यतिबेला देउताका लागि पनि छाउ बार्न भन्दै दबाब दिइरहेका छन् ।’छाउगोठमा ज्यानको बाजी लगाएर सुत्नुपरेको छ, देउताको नाममा कहिलेसम्म हामीले पीडा भोग्ने ? यो गलत प्रथा हटाउनै पर्छ, त्यसका लागि ठूलो बल आवश्यक छ’, पञ्चपुरी-६ की किशोरी अमृता कँडेल भन्छिन् ।
छाउगोठमा बस्नुपर्दा कतिपयको मृत्यु भएपछि गाउँका महिला सञ्जाल, आमा समूह, किशोरकिशोरी, युवा र बाल क्लब छाउपडी बार्ने चलनविरुद्ध खरो रूपमा उत्रिएका थिए । दुई वर्षअघिसम्म सुर्खेतमा सञ्चालन भएको छाउपडी उन्मूलन अभियानको नेतृत्व नै उनीहरूले गरेका थिए । छाउ बार्ने चलनबाट पीडित यहाँका महिला र किशोरीले नै गाउँमा रहेका सयौं छाउगोठ भत्काएका थिए । यस्तो प्रथा गलत भएको र छाउगोठलाई ज्यानमारा भन्दै उनीहरूले टोल-टोलमा चेतानामूलक अभियान सञ्चालन गरेका थिए । तर, अभियानको नेतृत्वकर्ता उनै महिला हिजोआज महिनावारी हुँदा घरभन्दा टाढा रहेको छाउगोठमा सुत्ने गरेका छन् ।
स्थानीय युवा सञ्जालका अध्यक्ष अमर कार्की अन्धविश्वासले जरा गाडेका कारण छाउपडी प्रथाविरुद्धका अभियन्ता नै गोठमा बस्नुपर्ने अवस्था आएको बताउँछन् । उनका अनुसार अभियान सुस्ताएसँगै अभियन्ता नै छाउगोठमा सुत्न थालेका छन् । ‘हिजो छाउगोठ भत्काउन नेतृत्व गरे, गाउँलेलाई पनि घरभित्रै सुत्नुपर्छ भन्दै सिकाए’, उनी भन्छन्, ‘अहिले उनै किशोरी र महिला आफू महिनावारी हुँदा छाउगोठमा सुत्छन्, अभियन्ता नै छाउगोठमा सुत्न थालेपछि छाउगोठ धमाधम बन्न थालेका छन् ।’ सरकार कडा रूपमा प्रस्तुत नभएसम्म यो कुप्रथा अन्त्य गर्न मुस्किल हुने उनको ठम्याइ छ । चेतनासँगै अब कानुनी कारबाहीको पनि व्यवस्था भए मात्र यो कुप्रथा हटाउन सम्भव हुने उनी बताउँछन् ।
प्रदेश नम्बर ६ र ७ का अधिकांश जिल्लामा अहिले पनि रजस्वला भएका महिला तथा किशोरीलाई गोठमा सुताउने गरिन्छ । यो कुप्रथा अन्त्यका लागि विभिन्न गैरसरकारी संस्थाले बेला-बेला अभियान पनि सञ्चालन गर्दै आएका छन् । तर, दाताका भरमा सञ्चालन हुने ती अभियान दीर्घकालीन नहुँदा अभियन्ता नै छाउगोठमा सुत्न बाध्य बनेका हुन् । दाताले रकम उपलब्ध गराउन छाडेको भन्दै गैरसरकारी संस्था अभियान छाडेर गाउँबाट फिर्ता भएका छन् । नेतृत्व गर्नेहरू नै छाउगोठमा सुत्न बाध्य भएपछि छाउ बार्ने चलन अन्त्य गर्न चुनौती देखिएको छ । छाउपडीमुक्त घोषणा गर्ने क्रममा यस क्षेत्रमा पहिला भत्काइएका छाउगोठ २० प्रतिशत पुनर्निर्माण भइसकेका छन् ।
@ललितबहादुर बुढाको बाइलाइनमा अन्नपुर्ण पोष्टमा खबर छ ।