आज मन्त्रिमण्डल बिस्तार हुदै : यी हुन मन्त्री बन्ने सांसदहरु
काठमाडौँ : सरकार गठन भएको डेढमहिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिँउसो मन्त्रिपरिषद् बिस्तार गर्दैछन् । देउवाले आज १९ जना मन्त्री थप गर्ने तयारी गरेका छन् । हिजो राति पाटीभित्रको मन्त्रालय संख्या विवाद मिलाएपछि प्रधानमन्त्री देउवाले आज सरकार विस्तार गर्न लागेका हुन् । मन्त्रालय संख्या मिलाउन र हिजै मन्त्रिपरिषद विस्तार गर्न दिनभर कसरत गरेका देउवा असफल भएपछि मन्त्रिपरिषद विस्तार आजलाई सारेका थिए ।
आफ्नै पाटीमा मन्त्रालय विवाद मिलाउन नसक्दा सरकार विस्तार लम्ब्याएका देउवाले काँग्रेससहित सत्ता साझेदार दलका नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् । यद्यपी नयाँ मन्त्रिहरुको सपथ समय भने निश्चित नभइसकेको मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए ।
गएको जेठ २४ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन तीन उपप्रधानमन्त्रीसहित सातजनालाई सरकारमा सहभागी गराएका देउवाले आज कांग्रेसका १०, माओवादीका ६, फोरम लोकतान्त्रिकका २ र नेकपा संयुक्तबाट एक नेता मन्त्रिमण्डलमा सहभागि हुदैछन् ।
प्रधानमन्त्री देउवाले नयाँ मन्त्रिहरुको सपथअघि मुख्यसचिव र केही सचिवहरुलाई बालुवाटार बोलाएका छन् । मुख्यसचिवलगायतसँग छलफल गरेर सपथको समय तया हुने बालुवाटार श्रोतले जनाएको छ । दिउँसो २ बजे नयाँ मन्त्रिहरुको सपथग्रहण गराउने तयारी देउवाले गरेका छन् ।
सत्तारुढ दल माओवादीसँग भएको सहमतिअनुसार कांग्रेस १३, माओवादी केन्द्र ९, फोरम लोकतान्त्रिक ३, नेकपा संयुक्त १ र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलका लागि ४ मन्त्रालय छुट्याएपनि यो पटकको मन्त्रिमण्डल विस्तारमा राप्रपा सहभागि हुने सम्भावना नरहेको प्रधानमन्त्री देउवाका सहयोगिहरुले बताएका छन् ।
राप्रपालगायतका दलका लागि छुट्याइएका चार मन्त्रालय भने हाललाई प्रधानमन्त्री आफैले राख्ने भएका छन् । पछिल्लो सहमतिअनुसार कांग्रेसले रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, खानेपानी तथा सरसफाइ, कृषि विकास, सहकारी तथा गरिबी निवारण, कानुन, युवा तथा खेलकुद, वाणिज्य मन्त्रालय पाउनेछ ।
त्यस्तै माओवादी केन्द्रले आपूर्ति, पशुपन्छी विकास, महिला बालबालिका तथा समाजकल्याण, ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ ।
फोरम लोकतान्त्रिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमिसुधार तथा व्यवस्था पाउनेछ भने नेकपा संयुक्तले जनसंख्या तथा वातावरण पाउनेछ । राप्रपाका लागि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण छुट्याइएको छ ।
अन्ततः पौडेल पक्षले ६ मन्त्रालयको दाबी गरे पनि चारमै चित्त बुझाएको छ । पौडेल पक्षले रामकृष्ण यादव, सञ्जय गौतम, यज्ञबहादुर थापा राजेन्द्रकुमार केसी सरकारमा सहभागी हुने भएका छन् ।
सभापति देउवा पक्षबाट मीन विक, अम्बिका बस्नेत, अर्जुनप्रसाद जोशी र बीरबहादुर बलायर सरकारमा सहभागी हुने भनिएपनि देउवा पक्षका यी नामहरु सपथ ग्रहण हुनेवेला सम्म परिवर्तन हुनसक्ने नेताहरुले बताएका छन् । कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत पनि मन्त्री हुनेछन् ।
सत्तासाझेदार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, सन्तबहादुर चौधरी, आशा कोइराला, सीता नेपाली मन्त्री बन्ने भएका छन् ।
माओवादीका तर्फबाट मन्त्रि बनाइन लागेका नामहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पार्टीका शीर्ष नेतासँग छलफल गरेर प्रधानमन्त्री देउवालाई बुझाउने तयारी गरेका छन् ।