Logo
६ आश्विन २०८१, आईतबार
(June 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान नभन्न कांग्रेसको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित नभएर बैठकको अपमान गरेको टिप्पणी भएपछि नेपाली कांग्रेसका सांसदहरूले बचाऊ गरेका छन ।

सिंहदरबारमा जारी समितिको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभए पछि सभापति पवित्रा निरौलाललगायतले समितिको ‘अपमान’ गरेको अभिव्यक्ति दिएपछि कांग्रेस सांसदहरू बचाउमा उत्रेका हुन् । प्रधानमन्त्री देउवालाई अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले आज बोलाएको थियो ।

सभापति पवित्रा खरेलले बैठकमा उपस्थिति नभए प्रधानमन्त्री देउवाले अपमान गरेको भन्ने टिप्पणी गरे लगत्तै कांग्रेस सचेतक पुष्पा भुसालले अपमान भन्ने शब्द उचित नभएको भन्दै बचाउ गरेकी हुन् ।

‘हामीले बोलाउँदा उहाँ (प्रधानमन्त्री) आउनुपर्छ, तर प्रधानमन्त्रीको समय के भयो, त्यस आधारमा बुझ्नुपर्छ, अपमान नै भन्ने शब्द प्रयोग गर्नु हुन्न’ भुसालको आग्रह थियो ।

काग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने भन्दै बचाउ गरेका छन् ।

सभापति खरेलले बैठकको दुई घन्टा अघि अर्थात् बिहान ८ बजे मात्रै उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताएलगत्तै कांग्रेस सांसदहरू बचाउमा लागेका हुन् ।

‘हिजो दिनभरी फोनमा सम्पर्क गरियो । तर, आज बिहान ८ बजे उपस्थित नहुने भनेर खबर आयो, यस्तो कार्यले समितिको अपमान गरेको महसुस गरेको छु, यो अपमान हो भन्ने मलाई लाग्छ,’ सभापति खरेलले भनिन् ।

अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो । यसअघि सोबारेमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएलगत्तै समितिले आज प्रधानमन्त्रीलाई बोलाएको थियो ।

पराराष्ट्र मन्त्री खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भएको तथा प्रधानसेनापति शर्माले एसपीपी नेपालको हितमा नभएको भन्दै हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: Jun 19, 2022

प्रतिक्रिया दिनुहोस्