वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच चुनावी गठबन्धन
वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका छन् । तालमेल अनुसार महानगरको प्रमुख एमालेबाट र उपप्रमुख लोसपाबाट उठ्ने भएका छन् ।
दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी गठबन्धन भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्णलगायत सहभागी भएका थिए ।
तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।
तर यो तालमेलमा पर्साका कांग्रेस नेता तथा कार्यकर्ताले असंतुष्टि जनाएका छन् । वीरगञ्जको मेयर जसपालाई दिने गठबन्धनको निर्णयमाथि पुनर्विचार गर्न उनीहरुको आग्रह छ ।