भारतीय विदेशमन्त्री यही महिना नेपाल आउँदै, पछि मोदी पनि आउने
भारतीय विदेशमन्त्री सुष्मा स्वराज यही महिनाको अन्त्यतिर नेपाल आउने भएकी छिन् । साउन २६ र २७ मा नेपालमा हुने बिमस्टेकको विदेशमन्त्री स्तरीय बैठकका लागि उनी नेपाल आउन लागेकी हुन् । मृगौला ट्रान्सप्लान्टपछि उनको यो पहिलो विदेश भ्रमणको हो ।
स्वराजले गत डिसेम्बरमा मृगौलाको अपरेशन गरेकी थिइन् ।
त्यसयता उनी मन्त्रालयको काम तथा विदेशी पाहुनाको आतिथ्य गर्नमा नै व्यस्त थिइन् । सन् २०१७ को अन्त्यतिर हुने बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोओपरेसन (बिमस्टेक) सम्मलेनको तयारी स्वरुप यो बैठक आयोजना गरिएको हो ।
उक्त सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल आउँदैछन् । उनी पछिल्ले पटक सन् २०१६ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेकी थिइन् । त्यसपछि उनले कुनै पनि विदेश भ्रमण गरेकी थिइनन् ।
सार्कको विकल्पको रुपमा मोदी सरकारले पछिल्लो समय विमस्टेकलाई बढी प्राथमिकता दिइरहेको छ । पाकिस्तानलाई अलग्याउने रणनीति स्वरुप बिमस्टेक मोदी सरकारको प्राथमिकतामा परेको छ । यही वर्ष बिमस्टेक स्थापना भएको दुई दशक पनि पूरा हुँदैछ ।
यस पटकको सम्मेलनमा मोदी सरकारले विस्तारित मोटर वाहन सम्झौता गर्ने तयारी गरेका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसबाट बंगलादेश, भूटान, भारत र नेपालबीच सडक सञ्जाल निर्माण गर्ने भारतको उद्देश्य रहेको छ । यसलाई बिबिआइएन एमभिए पनि भनिने गरेको छ । क्षत्रीय कनेक्टिभिटीमा भारतले पछिल्लो समय जोड दिँदै आइरहेको छ । एजेन्सी