नेपाल बारको मतगणना जारी, गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेको अग्रता
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको मतगणना जारी छ ।
मंगलबार बिहानदेखि सुरु भएको मतगणना साढे ३ बजेसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसायीको अग्रता देखिएको छ ।
काठमाडौं बाहिरका ६ जिल्ला र सर्वोच्च बारको १०० मतगणना हुँदासम्म गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् ।
उनले ३ सय ९ मतसहित अग्रता लिइरहेका छन् ।उनलाई नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए)का उम्मेदवार १ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवमा गठबन्धनका उम्मेदवार अञ्जिता खनालले २ सय ८१ मत प्राप्त गरेकी छन् । उनलाई पीपीएलएका महासचिव उम्मेदवार केदार कोइरालाले २ सय ३ मत ल्याएर पछ्याइरहेका छन् ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी निकट कानुन व्यवसायीहरूले बृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूह बनाएर निर्वाचनमा उम्मेदवार चयन गरेका थिए ।
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले साढे ३ बजेसम्म सर्लाही, इलाम, महेन्द्रनगर, वीरगन्ज, झापा र दिपायलको मतगणना सकिएको जानकारी दिए ।
त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनको एक सय मत पनि गणना भइसकेको उनले जानकारी दिए । मतगणना सकिन अझै ३ दिन लाग्ने सम्भावना रहेको उनले बताए ।
नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते मतदान भएको थियो । नेपाल बारको निर्वाचनमा उपत्यकाको काठमाडौं र देशभर ३५ स्थानमा मतदान केन्द्र राखेर निर्वाचन भएको थियो ।
सबै मतपेटिका काठमाडौं ल्याएपछि मतगणना सुरु भएको हो । नेपाल बारको अध्यक्षसहित ११ पदाधिकारी र १४ सदस्य रहेको कार्यसमिति चयन हुनेछन् । बारमा ९ हजार ७०८ मतदाता थिए ।