Logo
११ पुस २०८१, बिहीबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री खाणले दिए ७७ वटै जिल्लाका सिडिओलाई बजार अनुगमन गर्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्।

खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरूप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएको प्रवक्ता पोखरेलले बताए।

‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिनुभएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य हुनेछ।’

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतबारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

गृह प्रवक्ता पोखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे-नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भए नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन्।

त्यस्तै, मन्त्रालयले उद्योग वाणिज्य सङ्घको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानुन अनुरूप सजाय गर्नसमेत निर्देशन दिएको छ।

पेट्रोलियम पदार्थ आयातमा व्यवसायीहरूले गरेको अवरोध शनिवार मात्रै सहमति भएर टुङ्गिएको थियो। तर, अहिले पनि उपत्यकाका पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिएपछि सरकारले किन समस्या समाधान भएन भनेर अनुगमन गर्न लागेको हो।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्