Logo
१२ मंसिर २०८१, बुधबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्यतारा सिमेन्ट उद्योगको लागि १४ अर्ब ३७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत

लगानी बोर्ड नेपालले सूर्यतारा सिमेन्ट परियोजनाको लागि १४ अर्ब ३७ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राति बसेको ५० औँ बोर्ड बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनको लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको हो ।

यस्तै बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि जर्मनीको कम्पनीलाई अनुमति दिने पनि निर्णय गरेको छ ।

यस्तै, बैठकले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीले पेस गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ ।

यस्तै, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको म्याद थप गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले दिएको प्रतिवेदनका आधारमा विकासकर्तासँग वार्ता गरेर समझदारीको लागि लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण-३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निः शुल्क बिजुली बिक्री तथा थप बिजुली खरिद गर्ने विषयमा विस्तृत अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई वटा छुट्टा छुट्टै अध्ययन समिति पनि गठन गरेको छ ।

बैठकमा बैठकमा प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यानस तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनुपर्नेमा जोड दिए ।

बोर्डले गरेका प्रयासको सह्राना गर्दै उनले लगानी बोर्डले गरेका निर्णयहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुको कार्यान्वयन अवस्था, परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्