Logo
११ पुस २०८१, बिहीबार
(July 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपासमर्थित रामनाथ भारतका १४ औं राष्ट्रपति निर्वाचित

भारतको राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार रामनाथ कोविंद निर्वाचित भएका छन् । बिहिबार भएको राष्ट्रपतीय निर्वाचनबाट प्रत्यासी कंग्रेस आईकी मीराकुमारलाई पछि पार्दै रामनाथ चौधौं राष्ट्रपति निर्वाचित भएका हुन् । रोचक के छ भने कोविंद र कुमार दुवै दलित समुदायका हुन्। दलित समुदायकै केआर नारायणन यसअघि राष्ट्रपति भइसकेका छन् ।

भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविंदले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएउने अनुमान पहिले नै गरिएको थियो । अत्यन्त सामान्य परिवारका कोविंदलाई भाजपाले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुअघि उनका बारेमा धेरैले सुनेका थिएनन् ।

उनी आरएसएसका उपल्ला कोटीका कार्यकर्ताका रुपमा चिनिन्थे भने राष्ट्रपतिको उम्मेदवारी दिनुअघिसम्म बिहार प्रदेशका राज्यपालको जिम्मेवारी सम्हालिरहेका थिए । विंदको विजयसँगै भारतीय जनता पार्टीले एक गौरवमय इतिहास बनाएको छ, देशको राष्ट्रपति जस्तो उच्च स्थानमा आफ्नै पार्टीका कुनै सदस्यलाई पुर्याएर । सन् १९४५ मा जन्मेका कोविंदकी पत्नी सविता कोविंद रिटायर्ड सरकारी कर्मचारी हुन् । उनका एक छोरा र एक छोरी छन् ।

को हुन् रामनाथ कोविन्द ?

गणतन्त्र भारतको चौधौं राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामनाथ कोविन्द भारतीय इतिहासमा तल्लो जातबाट राष्ट्रपति निर्वाचित हुने दोस्रो भाग्यशाली व्यक्तित्व हुनुहुन्छ । कुनैबेला कानुन व्यवसायमा समेत संलग्न रहनुभएका ७१ वर्षीय रामनाथ सिमान्तकृत दलित समुदायका नागरिक हुनुहन्छ । राष्ट्रपतिको उम्मेदवारका रूपमा सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) तर्फबाट नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो जो बिहीबार सम्पन्न भएको हो ।

राज्य सरकारका गभर्नर भइसक्नु भएका रामनाथ कोविन्दले विपक्षी गठबन्धनको उम्मेदवार मीरा कुमारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्नुभयो । कोविन्द ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाउनुभएको छ । सत्तारुढ दलले दलित उम्मेदवारलाई बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

संख्यात्मक हिसाबले कोविन्दले ७ लाख २ हजार ४४ मत पाउनुभएको छ भने मीरा कुमारलाई ३ लाख ६७ हजार ३१४ मत मात्र हासिल भएको छ । निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए । भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुहुने छ ।

उत्तर प्रदेशका दलित नेताका रुपमा चिनिनु भएका कोविन्द दुई पटक राज्यसभा सदस्य भइसक्नु भएको छ । कानुनको राम्रो ज्ञाता, विसान तथा गरिब दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ । यसैबीच प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति कोविन्दलाई वधाई ज्ञापन गर्नुभएको छ । कोविन्द राष्ट्रपतिमा निर्वाचित भएसँगै प्रधानमन्त्रीको भारतीय सत्तामा थप बल पुग्ने विश्वास विश्लेषकहरूले गरेका छन् ।

भारतको एक अर्ब ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ ।

प्रकाशित मिति: Jul 20, 2017

प्रतिक्रिया दिनुहोस्