Logo
१२ मंसिर २०८१, बुधबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिँचाइमा खपत हुने विद्युत् महसुल निःशुल्क बनाउने भुसालको घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन् ।

मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत् महसुल निःशुल्क बनाउने लक्ष्य लिएको स्पष्ट पारिन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासङ्घको ४१औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादन हुने वस्तुहरु आयात नगर्न पनि व्यवसायीसँग आग्रह गरिन् ।

‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौँ । राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने व्यवसाय गरौँ । हाम्रो देशभित्र उत्पादन हुने वस्तु चाहिँ आयात नगरौँ,’ उनले भनिन्, ‘अहिले साढे २ खर्बको वार्षिक रुपमा खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ । त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौँ ।’

गत १ मंसीरदेखि सिँचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफू लागि परेको बताइन् ।

नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने उनको भनाइ थियो ।उद्योगीहरुले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालको वस्तुहरुको उत्पादन र बिक्री वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने बताइन् ।

 

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्