३ महिनापछि आज प्रदेश १ को प्रदेश सभा बैठक
प्रदेश नं १ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आज बस्न लागेको हो ।
राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकाका लागि स्थगित भएको संसद्को नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथिको छलफल रहेको उनले बताए ।