Logo
९ मंसिर २०८१, आईतबार
(July 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारले समाचारका लागि घुस मागेपछि (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय तहको एक स्थापित टेलिभिजनका ‘सिनियर’ पत्रकारले समाचार बाहिर ल्याउने डर देखाएर पैसाको ‘बार्गेनिङ’ गरेको प्रमाण यहाँ प्रस्तुत गरिएको छ । टेलिभिजनमा ‘सिनियर सव न्युज इडिटर’ रहेका सुरज आचार्यले समाचारको विषयमा व्यवसायीसँग पैसा मागेको भिडियो र अडियोमा हेर्न र सुन्न सकिन्छ। आचार्य नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पनि हुन्। उनले आफ्नो पेशागत, व्यक्तिगत र दलीय झुकाव समेतको परिचय भिडियो र अडियोमा खुलाएका छन् र त्यसैका आडमा पैसा मागेका छन्।

आचार्यले आफू संलग्न दुईवटा टेलिभिजन, नेपाल पत्रकार महासंघ, दल निकटको एक पत्रकार संगठन, पूर्व प्रधामन्त्रीको प्रेस संयोजन टिमको एक सदस्य, काठमाडौंका मेयरको निकट व्यक्ति हुँ… जस्ता हैसियत प्रस्तुत गरेर पैसा पाए सबै मिलाउने नत्र अप्ठेरो पार्ने त्रास देखाएका छन्।

एकजना व्यवसायीलाई आचार्यले ‘समाचार तयार भैसकेको’ जानकारी गराएर ‘प्रसारण गरुँ कि पैसामा मिलाउने?’ भन्दै बार्गेनिङ गरेका छन्। व्यवसायीका अनुसार समाचार रोक्न सुरुमा आचार्यले तीन÷चार लाख मागेका थिए। बार्गेनिङका क्रममा उनले कम्तीमा एकलाख रुपैयाँ चाहिने जिकिर गरेका छन्।

पैसा पाए प्रसारणका लागि तयार भएको समाचार टिभिमा नजाने उनले आश्वासन दिएका छन्। त्यो पैसा ‘आफू माथिका सम्पादक’ र ‘तलका रिपोर्टर’लाई बाँड्ने बताएका छन्। नत्र समाचार टिभिमा प्रसारण हुने उनले डर देखाएका छन्। ‘इडिटोरियल मिटिङ’मा बारम्बार कुरा उठिरहेको बताउँदै उनले पैसा नपाए समाचार बाहिर ल्याउने भन्दै त्रास पैदा गरिगरि पैसा मागेका छन्।

चाबहिलको श्री गणेश अटो वर्कशपका संचालक दिपक भनिने गुनबहादुर थापा मगरसँग आचार्यले पैसा मागेका हुन्। आचार्यले आफू संलग्न दुईवटा टेलिभिजन, नेपाल पत्रकार महासंघ, दल निकटको एक पत्रकार संगठन, पूर्व प्रधामन्त्रीको प्रेस संयोजन टिमको एक सदस्य, काठमाडौंका मेयरको निकट व्यक्ति हुँ… जस्ता हैसियत प्रस्तुत गरेर पैसा पाए सबै मिलाउने नत्र अप्ठेरो पार्ने त्रास देखाएका छन्।

वर्कशप र छिमेकीको विवादबीच पैसाको बार्गेनिङ
काठमाडौं महानगरपालिकाले २०७३ मंसिरमा गरेको निर्णयलाई आधार बनाएर पत्रकार आचार्यले व्यवसायी थापासँग पैसाको ‘बार्गेनिङ’ गरेका हुन्। महानगरले थापाको विरुद्धमा गरेको निर्णय किन कार्यान्वयन भएन भन्ने विषयमा आफ्ना संवाददाताले समाचार सामग्री तयार पारिसकेको भन्दै पैसा दिए समाचार रोक्न सकिने नत्र प्रसारण गर्ने डर देखाएका छन्। पैसा पाए समाचार रोक्ने बचन दिँदै उनले थापालाई दुई–चार बर्ष व्यवसाय चलाउन समस्या नहुने ‘ग्यारेन्टी’ गरेका छन्।

पैसा पाए प्रसारणका लागि तयार भएको समाचार टिभिमा नजाने उनले आश्वासन दिएका छन्। त्यो पैसा ‘आफू माथिका सम्पादक’ र ‘तलका रिपोर्टर’लाई बाँड्ने बताएका छन्। नत्र समाचार टिभिमा प्रसारण हुने उनले डर देखाएका छन्। ‘इडिटोरियल मिटिङ’मा बारम्बार कुरा उठिरहेको बताउँदै उनले पैसा नपाए समाचार बाहिर ल्याउने भन्दै त्रास पैदा गरिगरि पैसा मागेका छन्।

आचार्यले आफ्ना संवाददाताले सम्पादकसँग पनि यस विषयमा कुरा राखिसकेको बताउँदै समाचार रोक्नको लागि सम्पादकलाई समेत ‘कन्भिन्स’गर्नुपर्ने भएकोले ठूलै रकम दिनुपर्ने दवाव दिएका छन्। ‘समाचार किन प्रसारण नगरेको सुरजजी भन्दै सम्पादकबाट प्रेसर आइरहेको छ,’ बार्गेनिङ भैरहेको भिडियो र अडियोमा छ –‘रिपोर्टरले पनि किन मेरो न्युज प्रसारण भएन भनेर हैरान पारिसक्यो, अब म प्रेसर थेग्न सक्दिैन, समाचार रोक्न गाह्रो हुन्छ।’

चाबहिल भत्केको पुल नजिकै थापाको श्री गणेश अटो सेन्टरसँगै अर्को वर्कशप छ– कुञ्जिका अटो वर्कशप जसका संचालक हुन् प्रेमबहादुर सुनार। यी दुवै वर्कशपले ध्वनी तथा वायु प्रदुषण गरेको भन्दै वर्कशप हटाउन छिमेकी मिलन खरेलले काठमाडौं महानगरपालिकामा निवेदन दिएका थिए। दुई वर्कशपका संचालक थापा, सुनार र जग्गाधनी सुनिल प्रजापति समेतलाई विपक्षी बनाइ महानगरपालिकामा निवेदन परेको थियो।

महानगरपालिकाले २०७३ मंसिर १० गते उक्त निवेदन उपर निर्णय गरेको थियो। महानगरपालिकाका तत्कालीन प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङको इजलासले तीन महिनाभित्र ती वर्कशपहरु हटाउनु भन्ने आदेश दिएको थियो। महानगरले दुवै वर्कशपका नाममा मंसिर २१ गते ग्यारेज स्थानान्तरण गर्ने व्यहोराको पत्र लेखेको थियो। उक्त पत्र मंसिर २३ गते म्याद तामेली भएको छ। तर, दुई वर्कशपका संचालक महानगरको निर्णयविरुद्ध पुनरावेदन अदालत पाटन पुगेपछि भने वर्कशप संचालक र उजुरीकर्ता छिमेकीबीच भद्र सहमति भएको वर्कशप संचालक बताउँछन्।

उजुरीकर्ता छिमेकीले नै अदालत जानुभन्दा मिलेर बसौं भन्ने प्रस्ताव ल्याएपछि अदालतमा विचाराधीन मुद्दा पनि अफूले फिर्ता लिएको थापाले बताए। दुवै वर्कशप संचालकले चर्को आवाज आउने काम बन्द गर्नुपर्ने सहमतिमा छ। बाटोमा सवारी राख्न नपाइने, गन्ध आउने पेन्टिङको काम पनि बन्द गर्ने सहमति भए अनुसार कार्यान्वयन पनि गरेको थापा बताउँछन्।

पत्रकार आचार्यले वर्कशप हटाउनुपर्ने महानगरको निर्णय कार्यान्वयन गराउन दबाब दिने गरी समाचार प्रसारण गर्ने त्रास देखाएर आफूलाई बारम्बार ‘ब्ल्याकमेल’ गर्दै आएको थापा बताउँछन्। ‘आज (बुधबार बिहान) फोन गरेर बेलुकासम्म पैसा चाहियो भन्यो,’ थापाले सुनाए ‘हिजो राति पनि फोन आएको थियो।’

समाचारको आडमा अार्थिक लाभ लिन खोज्नु अपराध होः अध्यक्ष, नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकारले समाचारको विषयवस्तुलाई लिएर सौदाबाजी गर्नु अपराध हुने प्रतिक्रिया दिए। उनले भने ‘तर समाचारको विषयवस्तुमा कुनै पनि पत्रकारले आर्थिक लाभ लिन खोज्नु पत्रकारिताको इथिक्सभित्र पर्दैन।’

पत्रकारले समाचारको सौदाबाजी गर्नु पत्रकारिताको सिद्धान्त विपरित हुने र यो अपराध नै हुने अध्यक्ष बिष्टको भनाइ छ। पत्रकार आचार्यकसँगको सम्पर्क प्रयास सफल हुन सकेन। हामी उनको प्रतिकृया राख्ने प्रयासमा हुनेछाैं।

अडियोबाट उतारिएको तलको संवाद असार ८ गतेको हो। यो संवाद अडियोमा सुन्न् यो युटुव लिंकमा जानुहोला।

संवाद
सुरजः कस्तो भयो भने परिस्थिति, जुन रिपोर्टर हो, तपाइको रिपोर्टमा महानगरको बाइट र यहाँ भ्यालीभित्र त्यस्तो कानुनविपरित छ भने कारवाही गर्छु भन्ने अडियो पनि ल्यायो। अनि मैले कम्तीमा त्यो कुरा रोक्न सक्यो भने सरको व्यवसाय पनि २–४ वर्ष सुरक्षित हुन्छ। यो कुरा घुम्दै फिर्दै मकहाँ ठोक्कियो। म पत्रकार महासंघको केन्द्रीय सदस्य हो। एमालेको जिम्मेवार निकायमा काम गरिरहेको मान्छे हो। यसले गर्दा भोलि कहीँ न कहीँ हजुरलाई मेन्टली पनि टर्चर हुन्छ। त्यो भाइ र सम्पादकलाई थुम्थुम्याउन पाइयो भने त्यसपछि चाहिँ हुन्छ भन्ने हो।

साहुः मैले नबुझ्या कुरा के भने मेरो कम्पनीले यसमा के गर्यो ? म बकाइदा दर्ता गरेर बसेको छु, ट्याक्स तिरेको छु । मिडियासँग के सम्बन्ध भयो? ठिक छ उनीहरुले रिपोर्ट हाले, महानगरपालिकामा गएँ महानगरपालिकाले एकतर्फी निर्णय गरिदियो। हामीलाई जाने ठाउँ त अरु पनि छ नि। म जिल्ला अदालत जान्छु, उच्च अदालत जान्छु नभए सर्वोच्चसम्म पुग्छु।

सुरजः महानगरले यसरी निर्णय गरेपनि कार्यान्वयन भएन भन्ने हो, यो रिपोर्ट आयो भने तपाइँलाई…।

साहुः महानगरले एकतर्फी निर्णय गर्छ हामीलाई हन्ड्रेड पर्सेन्ट थाहा थियो। त्यहीँको फाँटवालाले भनेको – तपाइँ यहाँबाट कुरा नगर्नुस्। यहाँ त यस्तो यस्तो हुन्छ यो मान्छे यस्तो हो। उसबाबाट प्रेसर आइराछ। यहाँ एकतर्फी निर्णय हुन्छ। यहाँ तपाइँको केही लाग्दैन अन्तै जानुस्। फाँटकै मान्छेले भनेको। धेरै भए मैले ठाउँ छोड्नुपर्ला। त्यत्ति हैन? मेरो त्यस्तो स्थिति पनि छैन। मैले नबुझ्या कुरा मिडियासँग मेरो सम्बन्ध के?

सुरजः मलाई जसरी ब्रिफ गर्या छ त्यसअनुसार महानगर महानगरको निर्णय कार्यान्वयन भएको रहेनछ। त्यो डकुमेन्ट मकहाँ आइपुग्यो। त्यसले एकदमै प्रब्लम भइराछ भनेर उसले मसँग मात्र आको होइन। उसले एडिटोरियल मिटिङ हाम्रो हरेक दिन बस्छ आज के समाचार बनाउने भन्ने त्यो मिटिङमा ल्याएर उसले पेश गरिसक्यो। त्यसपछि मेरो सम्पादकले के भन्यो भने सुरजजी हुनुहुन्छ उहाँसँग सल्लाह गर्नुस् भनेर भन्यो। त्यसपछि उसले र सम्पादकले मलाई तपाइ यो केसलाई किन फलो गर्नुभाको छैन? छोडिदिने हो भने छोडिदिने हिसाबले कुरा गर्नुस्। महानगरले हामी कारवाही गर्न तयार छौं भनेर मलाई प्रेसर आइरहेपछि मेरो टाउको दुखेको हो। मैले सरलाई फोन गर्न पर्नुको कारण पनि त्यही हो। यति भइसकेपछि एकदमै प्रेसर बढेपछि मैले सरको आफ्नो व्यवसाय हो मेन्टल टर्चर किन लिनुहुन्छ भनेर जे जति हुन्छ मिलेर मिलाउन सकिने ठाउँ छ। यसो दाइ भइहाल्यो मिलाउँ न त भन्ने कुरा हो।

साहुः हामीले गर्नै पर्छ (पैसा दिनै पर्छ) भन्ने छ र? महानगरपालिकाले निर्णय गरिदियो। हामी जिल्लामा जान्छौं। उच्च अदालत जान्छौं नभए सर्वोच्चमै जान्छौं। मैले गैरकानुनी काम गरेको छैन। बकाइदा दर्ता गरेको छ, ट्याक्स तिरेको छ।

सुरजः महानगरको निर्णय कार्यान्वयन गरेन भन्ने हो।

साहुः महानगरले निर्णय गर्यो भनेर त हामी अन्त गएको नि। महानगरले निर्णय गर्यो भन्दैमा हामीले गर्नैपर्छ भन्ने त छैन नि। विकल्प छ नि। रिंगरोडभित्र वर्कशप खोल्न पाइन्न भन्ने छ। टाटा कम्पनीले त अर्बौं रुपैयाँ खर्च गरेर बनाइराछ त। कानुन भनेको सबैलाई लाग्नुपर्यो नि सबैलाई एउटै हुनुपर्यो नि।

सुरजः ल ठिक छ। सरलाई यो सबै आउँदा एकखालको मेन्टल टर्चर पनि हुन्छ। सरले जसरी सोच्नुहुन्छ।

साहुः हैन मैले पैसै दिनुपर्छ भने मेरो त्यो क्षमता छैन। मेरो काम देखिहाल्नुभाछ।

सुरजः मैले तपाइको श्रमको सम्मान गर्छु। म जतिखेर आएँ, यहाँ सरले काम गरिराखेकै देख्याछु। तपाइ आफैं खट्ने हो। मैले सरलाई के आग्रह गरे भने सरले आफैं बुझेर गरिदिनुहोस्। बाहिर जाँदा टर्चर बोक्नु पर्दैन सरलाई मैले यत्ति रिक्वेष्ट गरें।

साहुः भनेपछि मैले कति गर्नुपर्ने?

सुरजः सरले हेरेर गरिदिनुस्।

साहुः हेरेर त गर्ने कति गर्ने? १० हजार दिने, २० हजार दिने, ३० हजार दिने कति भन्नुस् न। यो पनि मेरो जग्गा हैन मैले भाडा तिरेर बस्ने हो। केटाहरुलाई तलब दिनुपर्यो। खर्च त्यत्तिकै हुन्छ। कम्पिटिसनको मार्केट छ। आम्दानी त्यही हो खर्च त्यही हो। मैले सक्ने छ भने मैले यति पैसा दिन्छु भनेर भन्छु होइन भने सर मैले सक्दिन भन्दिन्छु के। त्यही भएर सरले भन्दिनुस् न। सरले भन्दिनु भयो भने मलाई सजिलो हुन्छ। म माथिको सरलाई यति दिन्छु यति मैले राख्छु मिलेर गरौं न त भनेर भन्नुस् न।

सुरजः एक जति त गर्न पर्छ।

साहुः एक लाख?

सुरजः हो।

साहुः गाह्रो हुन्छ होला सर। के गर्ने हेर्नुस् न ५ गते भाडा दिनुपर्ने आज आठ गते भइसक्यो। भाडा तिर्न सक्या छैन। केटाहरुलाई स्यालरी दिन सक्या छैन।

सुरजः ल मैले यति भनें बाँकी सरले सोचेर गरिदिनुपर्ने भो। सम्पादकलाई मिलाउने जिम्मा मेरो भो।

साहुः यो तत्काल चाहिँ हुँदैन। हप्ता १० दिन लाग्छ। किनकि मैले ५ गते भाडा दिनुपर्ने आज आठ गते भइसक्यो। पैसा त्यही हो काम गर्यो सबै उधारो हुन्छ। गाह्रो छ के सर। एकदमै गाह्रो छ। अब केटाहरुलाई स्यालरी दिने बेला भइसक्यो। सब एकमुष्ट एकैचोटी भइराछ के यहाँ। ठिक छ यस्तो भनेर कुरा गर्नुस् न। म यस्तो यस्तो कुरा गरेर आएँ उहाँको समस्या यस्तो छ। गर्दिन्छु भनेर भन्नुभाछ भन्नुस् न।

सुरजः टेन्टेटिभ डेट, टाइम भए त्यो अनुसार कुरा गर्न हुन्थ्यो।

साहुः त्यही त भने मेरो हप्ता १० दिन भन्दा तल हुँदैन सर। एकछिन हुँदैन। सबभन्दा पहिला त आफू बसेर काम गर्ने ठाउँमा रेन्ट दिनुपर्यो। भोलि फेरि यहाँ समस्या हुन्छ। त्यसपछि केटाहरुलाई स्यालरी दिनुपर्यो काम गर्ने मान्छेलाई। सकभर म छिटो भन्दा छिटो गर्दिन्छु। सरले एक लाख भन्नुभयो त्यसमा पनि मैले अलि उ गर्नुपर्ने हुन्छ। किनकि गाह्रो छ के सर। एक लाख भनेको सानो कुरा हैन हामीजस्तो काम गरेर खाने मान्छेलाई।

सुरजः ठिक छ मैले सरलाई हजुरले १० दिन भन्नुभो भने कुनै न कुनै बहानामा अहिले यो चुनाव आएको हुनाले रोक्नलाई सजिलो पनि होला।

साहुः हो त्यही भन्नुस् न। म सकभर छिटो भन्दा छिटो सरलाई फोन गर्छु।

सुरजः सरलाई मैले १० दिन पछाडि फोन गर्छु। त्यतिबेला चाहिँ म सिधै लिनेगरी मात्रै आउँछु।

साहुः हस सर हस।

यो समाचार डिसी नेपालका लागि टेकनारायण भट्टराई/दामोदर नेपालले तयार पारेको समाचारबाट साभार गरिएको हो- सम्पादक

प्रकाशित मिति: Jul 12, 2017

प्रतिक्रिया दिनुहोस्