मधेश प्रदेशमा जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा
जनयुद्ध दिवसको अवसरमा मधेश सरकारले आज प्रदेशचर सार्वजनिक विदा दिएको छ । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदै छ ।
तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।
पहिलोपटक मधेश सरकार पनि जनयुद्ध दिवस मनाउँदै छ ।
क्याबिनेटको निर्णय अनुसार आजलाई जनयुद्ध दिवस मनाउ सार्वजनिक विदा घोषणा गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले बताए ।
मधेश सरकारले तीन वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । तर जनयुद्ध दिवस भने पहिलोपटक मनाउँदै छ ।सो अवसरमा आज जनयुद्धका सहिद परिवारलाई मधेश सरकारले जनही एकलाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
पहिलो चरणमा मधेश प्रदेशका आठवटै जिल्लाबाट पाँच-पाँच जना जनयुद्धका सहिद परिवार गरी ४० सहिद परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मान पत्र वितरण गर्न लागिएको मन्त्री साहका प्रमुख स्वकीय सचिव विजय यादवले जानकारी दिए ।
नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको मुख्यमन्त्री लालबाबु राउत बताउँछन् ।
जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले मधेश भवन परिसरमा रहेको कभर्ड हलमा सहिद परिवारहरुलाई सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम आयोजन गरेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज जान लागेका छन् ।सो कार्यक्रममा नै प्रचण्डको हातबाट जनयुद्धका ४० सहिद परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मान हस्तान्तरण गर्ने स्वकीय सचिव यादवले बताए ।
‘पहिलो चरणमा ४० जना र पछि छुटेका थप जनयुद्धका सहिदहरुलाई पहिलो चरणमा एक लाख र दोश्रो चरणमा २–२ लाख रुपैयाँ गरी ३ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ’ स्वकीय सचिव यादवले भने ।
अहिलेसम्म प्रदेशमा ५४३ जना सहिद परिवारको पहिचान भएको मन्त्री साह बताउँछन् । करिब ६ सय सहिद रहेको मन्त्री साहको भनाइ छ ।