दोहामा ग्राउण्डेड नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाइने
खाडीमुलुक कतारको दोहामा ग्राउण्डेड नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ । इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए-३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको हो ।
नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो ।
बिग्रिएको इन्जिनको मर्मतका लागि भने नेवानिले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरेको छ । सो प्रस्तावबाट छनोट हुने कम्पनीले इन्जिन मर्मत गर्ने भएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।
यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ ।कतारस्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गरेको र सो क्रममा जहाजको बाँया इन्जिनमा आन्तरिक खराबी पहिचान भएको पाइएको छ । सो टीमले इन्जिन फेर्न समेत राय दिएको एयरलाइन्सले बताएको छ ।
नेपाल एयरलाइन्सले त्यसपछि इन्जिन उत्पादनकर्ता पीडब्लूरआईएईसँग परामर्श लिएको र सो क्रममा इन्जिन फेरेर मर्मत गर्न सुझाव आएको समेत एयरलाइन्स स्रोतले बताएको छ । ।
यस अवस्थामा निगमले जहाजलाई उडाइराख्न भने इन्जिन भाडामा लिने भएको छ । त्यसका लागि ९ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिएको थियो ।
बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट इन्जिन भाडामा लिइने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढेको एयरलाइन्स स्रोतले बताएको छ ।