Logo
३ आश्विन २०८१, बिहीबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन्।

बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।

अधिवक्ता शर्माले भने, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हो। र न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो। हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ। जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ। न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ।’

त्यस्तै, अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको शुरुवात गर्न सहयोग गरेको बताए। उनले न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे।

अधिवक्ता सिम्खडाले भने, ‘यो आन्दोलन लगभग साढे २ महिना यता निरन्तर चलिरहेको छ। न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो। नेपाल बारको आन्दोलनले केही उपलब्धी हासिल गरिसकेको छ।’

अधिवक्ता सिम्खडाले न्यायालय भित्र रहेका न्यायाधीशहरुको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताउनु भयो।

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्