कोरोनाका कारण नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन पुनः अनिश्चित
नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । कोरोना संक्रमित बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड लागु गरेसँगै नेपाली कांग्रेसले यही माघ १५ गते गर्ने भनिएको १६ जिल्लाको अधिवेशन पुनः अनिश्चित बन्न पुगेको छ ।
कांग्रेसले सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ ।
महाधिवेशनअघि नै तल्लो तहको अधिवेशन गरिसक्नुपर्ने भए पनि सत्ताधारी दल कांग्रेसभित्रको आन्तरिक विवादका कारण यी १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन ।
यसअघि पुस २७ गते गर्ने भनी तय भएको जिल्ला अधिवेशन माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको १९ पदका लागि हुने निर्वाचनलाई देखाएर माघ १५ गते सारिएको थियो ।
कोरोना संक्रमणदर बढ्दै गएकाले माघ १५ गते तय गरिएको जिल्ला अधिवेशन पुनः अनिश्चित बनेको छ ।