Logo
३ आश्विन २०८१, बिहीबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली ज्वाइँ खडा गरेर सरकारले मेरो बद्नाम गर्यो : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफूलाई बद्नाम गराउन खोजेको आरोप लगाएका छन् ।

गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारको ढाकछोप गर्न बतास समूहलाई नक्कली ज्वाइँ खडा गरेर आफूविरुद्ध प्रयोग गरेको आरोप लगाएका हुन् । बतास समूहले नारायणहिटी संग्रहालयमा क्याफे संचालनका लागि ठेक्का पाएको थियो ।

चौतर्फी विरोध भएप्छि पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उक्त संरचना भत्काइएको छ । उनले बतास समूहलाई सरकारको संरक्षण रहेको बताउँदै अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताए ।

‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा,’ अध्यक्ष ओलीले भने ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए ।

उनले भनेका थिए, ‘मेरो ससुराली भद्रपुर, ओलीजीले मलाई ज्वाईं भन्नुहुन्छ । तपाईंहरूलाई थाहै त छ नि, सेटिङबिना विश्व बैंकले पनि काम गर्दैन । समझदारलाई इशारा काफी छ । कुन चाहिँ टेन्डर सेटिङमा छैन र ?’

नारायणहिटी परिसरमा बतास समूहले रोयल बगैंचा रेस्टरेन्टका लागि निर्माण गरिरहेका भौतिक संरचना संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको ठाडो आदेशमा भत्काइएको छ ।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्