Logo
१२ मंसिर २०८१, बुधबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले जलाए ट्रक

प्रदेश नं २ स्थित सिरहामा बन्दको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले ट्रक जलाएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै हिमालय सुगरमिल्समा उखुपुर्‍याए र पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।

ट्रकका धनीसमेत रहेका चालक विजय साहले जनमतका कार्यकर्ताहरुले एक्कासी ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर गाडी रोक्ने बित्तिकै ट्रकमा पेट्रोल छर्केर आगजनी गरेको बताए ।

घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रकमा लगाइएको आगोलाई प्रहरीको सहयोगले नियन्त्रणमा लिइएपनि ट्रक पूर्णरुपले जलेको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं ९ का साहले पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेको बताए । उनले ट्रकको आम्दानीले ऋण तिर्ने योजना बनाएपनि अहिले ट्रकमा नै आगजनी भएपछि उनी चिन्तित बनेका छन् ।

यसअघि पनि जनमतका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएका थिए । पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चितकालीन तराई मधेसको दिवाकालीन सडकजाम आह्वान गरेको छ ।

आइतवार मात्र धनुषामा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका थिए । घाइतेहरुमध्ये अधिकांश प्रहरी नै रहेका थिए ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्