Logo
७ पुस २०८१, आईतबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा निर्वाचनको लागि १२ वटा दल दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दल दर्ता भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस १० गतेको समय सीमाभित्र १२ दलले दर्ता गराएका हुन् ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दलले सातै प्रदेशमा सहभागी हुने भन्दै दल दर्ता गरेका छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेमकिपाले बाग्मती प्रदेश र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र सहभागी हुने गरी दल दर्ता गराएका छन् ।

आयोगले राष्ट्रिय सभा निर्वाचनको लगि ८ मतदान स्थलमा १४ मतदान केन्द्र तोकेको छ । ती मतदान केन्द्र र स्थलहरूमा २ हजार २५ जना मतदाताले मतदान गर्नेछन् । राष्ट्रिय सभाको १९ सदस्यको पदावधि यही फागुन २० गते सकिंदैछ ।

आयोगका अनुसार एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि सकिन लागेको हो ।

राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्