कांग्रेसको प्रदेश-२ को अधिवेशन आजदेखि शुरु, देउवाविरुद्ध निधि र कोइरालाको गठबन्धन
नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आजदेखि शुरु हुँदै छ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
समितिकाअनुसार चुनाव भोलि हुनेछ । प्रदेश-२ मा सभापति शेरबहादुर देउवा विरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ ।
देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ भने निधिले आफू निकट रामसरोज यादवलाई अघि सारेका छन् ।
कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ । प्रदेश सभा संसदीय दलका नेता समेत रहेका रामसरोज यादव अहिले भौतिक पूर्वाधार मन्त्री छन् । गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा निधि छन् ।
कोइराला समूहले पनि प्रदेश-२ को अधिवेशनलाई प्रतिष्ठाको रुपमा लिएको छ । प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् ।
कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् ।गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो।